०६ साउन २०८३, बुधबार
चिनियाँ अर्थतन्त्र थप सबल

चीनको छलाङ : पश्चिमाहरूको नकारात्मक चित्रणबीच झन् उकालो लाग्दै अर्थतन्त्र

बैशाख १९, २०८०
चीनको छलाङ : पश्चिमाहरूको नकारात्मक चित्रणबीच झन् उकालो लाग्दै अर्थतन्त्र
Photo : AP

पश्चिमी सञ्चारमाध्यमहरूमा चीनको अर्थतन्त्रका विषयमा निराशाजनक प्रक्षेपणहरू गरिएको भए पनि चिनियाँ अर्थतन्त्रले राम्रो प्रदर्शन गरिरहेको पाइएको छ । 

हिजै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसिया–प्रशान्त क्षेत्रको शानदार आर्थिक वृद्धि (४.६ प्रतिशत) चीनको पुनरुत्थान तथा भारतको उत्थानशील वृद्धिमार्फत हासिल हुने प्रक्षेपण गरिसकेको छ । चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने भनी गत अप्रिल महिनामै आकलन गरिसकेको थियो । 

अनि चीनको तथ्यांक ब्युरोले दुई साताअघि प्रकाशन गरेको आँकडाअनुसार, सन् २०२३ को पहिलो त्रैमासिकमा त्यहाँको कुल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढेको छ । यसैलाई आधार बनाई विभिन्न अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूले चीनको अर्थतन्त्र सन् २०२३ मा ६ प्रतिशतले वृद्धि हुने आकलन गरेका छन् ।

चीनको सेवा उद्योग कोभिड महामारीका कारण दुई वर्षसम्म थला परेकोमा अब बौरिन थालेको छ । अनि कोभिडकै कारण विश्वव्यापी रूपमा वस्तुको माग घटेकाले चीनको उत्पादन क्षेत्रमा केही समस्या आएको भए पनि सन् २०२३ मा त्यसको पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ । 

अमेरिकाले सन् २०२३ मा जम्मा १ प्रतिशत आर्थिक वृद्धि गर्ने अनि जर्मनी र बेलायत जस्ता ठूला अर्थतन्त्रको शून्य वृद्धि हुने आकलन गरिँदा चीनको स्वस्थ आर्थिक वृद्धि विश्व अर्थतन्त्रका लागि सकारात्मक मानिएको छ । 

विडम्बना नै मान्नुपर्छ– पश्चिमी सञ्चारमाध्यममा चीनको अर्थतन्त्रका विषयमा नकारात्मक कुरा मात्र छापिने गरेका छन् । द न्युयोर्क टाइम्सले चीनको आर्थिक स्थिति खस्किँदै गरेको भनी केही साताअघि सामग्री प्रस्तुत गरेको थियो । अनि फोर्ब्स पत्रिकाले चीनको आर्थिक चमत्कार अन्त्य हुँदैछ भनी केही समयअघि मात्र भविष्यवाणी गरेको थियो । फरेन अफेयर्स पत्रिकाले पनि चीनको उदयको अन्त्य भएको लेखेको थियो । 

वास्तवमा पश्चिमको मूलधारे सञ्चारमाध्यमले तथ्य भन्दा पनि पूर्वाग्रही आकांक्षालाई प्रस्तुत गर्ने गरेका छन् । नयाँ शीतयुद्ध शुरू भएसँगै चीनको अर्थतन्त्र कमजोर भएर पश्चिमको अधीनमा आओस् भन्ने आकांक्षा पश्चिमाहरूले राख्ने गरेका छन् । अंग्रेजीमा यसलाई ‘विशकास्टिङ’ भन्ने गरिन्छ । 

चीनको तथ्यांक ब्युरोले दुई साताअघि प्रकाशन गरेको आँकडाअनुसार, सन् २०२३ को पहिलो त्रैमासिकमा त्यहाँको कुल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढेको छ । यसैलाई आधार बनाई विभिन्न अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूले चीनको अर्थतन्त्र सन् २०२३ मा ६ प्रतिशतले वृद्धि हुने आकलन गरेका छन् ।

यस अन्तर्गत पश्चिमा पत्रकार र विश्लेषकहरू पश्चिमको लोकतान्त्रिक मूल्यमान्यता संसारभरि स्वीकार्य बन्नका लागि चीन असफल हुनैपर्ने धारणा राख्छन् । यही विचाराधारात्मक पूर्वाग्रहका साथ उनीहरू आर्थिक मन्दीमा गइसकेको अमेरिकाको अर्थतन्त्रको आशावादी चित्र प्रस्तुत गर्छन् भने आर्थिक वृद्धि गरिरहेको चीनको चाहिँ निराशाजनक तस्वीर देखाउँछन् । 

तर चीनले अपनाएको शून्य कोभिड नीतिका कारण उसको अर्थतन्त्रमा असर परेको कुरालाई नकार्न चाहिँ मिल्दैन । अनि युवाहरूमा बेरोजगारीको समस्या बढ्दै गएको तथ्यलाई पनि ढाकछोप गर्न सकिँदैन । चीनको तथ्यांक विभागले सार्वजनिक गरेको आँकडाको विश्लेषण गर्दा अहिले त्यहाँका शहरमा १ करोड १० लाखभन्दा बढी युवा बेरोजगार छन् । 

तर यस्तो स्थितिमा समेत चीनले बुद्धिमत्तापूर्ण आर्थिक नीति अपनाएर अर्थतन्त्रलाई रसातलमा जानबाट रोकेको कुरा स्मरणीय छ । अमेरिकी अर्थतन्त्रसँगको तुलना गर्दा नै यथार्थ चित्र हामीसामु प्रकट हुन्छ । 

अमेरिकामा कोभिडको समयमा अर्थतन्त्र कमजोर बनेपछि सरकारले विनाशकारी वित्तीय नीति अपनाउँदै राहत प्याकेजका नाममा खर्बौं डलर प्रवाह गरेको थियो । त्यसले गर्दा महंगी ह्वात्तै बढेर गयो । 

अनि अमेरिकाको केन्द्रीय बैंक (फेड) ले अनियन्त्रित रूपमा ब्याजदर बढाइदिँदा आर्थिक वृद्धि अवरुद्ध भयो भने एकपछि अर्को गरी बैंकहरू धराशायी भए । वस्तुतः अहिले अमेरिका मन्दीको दौरबाट गुज्रिरहेको छ र त्यसको परिणामस्वरूप सामाजिक तनाव पनि देखिन थालेको छ । तर पश्चिमा सञ्चारमाध्यमका सामग्री पढ्दा मन्दीलाई स्वीकार नगरिएको पाइन्छ । 

चीनको कुरा गर्दा कोभिड महामारीको समयमा सरकारले संयमित वित्तीय नीति अपनाएको थियो । उसले राहतका नाममा अरू देशमा जस्तो गरी खर्बौं खर्ब रुपैयाँ बजारमा प्रवाहित गरेन ।  

यस नीतिका कारण सन् २०२० र २०२१ मा चीनको अर्थतन्त्रले सामान्य भए पनि प्रगति गरेको थियो जबकि अन्य सबै देशमा अर्थतन्त्र संकुचित बनेको थियो । सन् २०२२ मा आएर कोरोनाभाइरसको नयाँ भेरिएन्ट बढी संक्रामक तथा कम हानिकारक भएपछि जिरो कोभिड नीति पनि असान्दर्भिक बन्यो र चीन सरकारले त्यसलाई हटायो । 

जिरो कोभिड नीति अपनाउँदा समेत अर्थतन्त्रमा विशाल आघात पुगेन र सरकारले सुझबुझपूर्ण निर्णय लिँदै सन् २०२२ को अन्तिमतिर जिरो कोभिड नीति परित्याग गर्‍यो । त्यसपछि भएको आर्थिक वृद्धिले धेरैलाई आश्चर्यचकित बनाएको छ । 

सन् २०२२ मा युक्रेन युद्ध शुरू भएपछि अन्य देशको अर्थतन्त्र थला पर्दा चीनको अर्थतन्त्र तिनको तुलनामा स्वस्थ नै रह्यो । अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् २०२२ मा आफ्नो देशको अर्थतन्त्र चीनको भन्दा राम्रो रहने भनी घमन्ड गरे पनि परिणाम त्यसको विपरीत देखियो । 

वास्तवमा पश्चिमका विश्लेषकहरूले चीनको आर्थिक व्यवस्थापन क्षमतालाई एकदमै कम आँक्ने गरेकाले गलत निष्कर्ष निकाल्ने गरेका छन् । चीनले आर्थिक गतिविधि चलायमान राख्नका लागि एकदमै कम समयमा पूर्वाधार निर्माणमा लगानी गर्ने तथा निर्माण सम्पन्न गरिसक्ने गरेको छ जुन कुरा पश्चिमी मुलुकहरूमा सम्भव छैन । 

अनि सरकारले क्याफे/बार, कुरियर, इन्जिन उत्पादन, अन्लाइन शपिङ लगायतका द्रुत गतिमा विकास भइरहेका उद्योगको पहिचान गरी तिनलाई उचित आयकर छुटमार्फत प्रोत्साहन गर्ने गरेको छ । त्यसबाहेक दोहोरो परिचालन (डुअल सर्कुलेशन) नीति ल्याएर चीन सरकारले आफ्नै उपभोक्ता बजारलाई गति दिइरहेको छ । 

युक्रेनमाथि आक्रमण गरेकोमा रुसलाई दण्डित गर्नका लागि आर्थिक प्रतिबन्ध लगाउँदा त्यसको ‘बूमर्‍याङ’ असर परेर पश्चिमाहरू आफैं समस्यामा परिरहेका छन् । तर चीन (र भारत) ले रुससँग सस्तो मूल्यमा ऊर्जा खरिद गरेर आफ्नो अर्थतन्त्रलाई चलायमान गरिरहेका छन् । 

यी सबै कारणहरूले गर्दा सन् २०२३ मा आइपुग्दा चीनको अर्थतन्त्र पहिलेको जस्तै गति समात्न सफल भइसकेको छ । उता अमेरिका र युरोपेली मुलुकहरू चाहिँ अल्पकालीन वृद्धिमा केन्द्रित नीति अपनाएर आर्थिक मन्दीको आहालमा पौडिरहेका छन् । 

युक्रेनमाथि आक्रमण गरेकोमा रुसलाई दण्डित गर्नका लागि आर्थिक प्रतिबन्ध लगाउँदा त्यसको ‘बूमर्‍याङ’ असर परेर पश्चिमाहरू आफैं समस्यामा परिरहेका छन् । तर चीन (र भारत) ले रुससँग सस्तो मूल्यमा ऊर्जा खरिद गरेर आफ्नो अर्थतन्त्रलाई चलायमान गरिरहेका छन् । 

‘झिँगाको सरापले डिँगा मर्दैन’ भन्ने उखानलाई चरितार्थ गर्दै पश्चिमाहरूको नकारात्मक प्रस्तुतिका बावजूद चिनियाँ अर्थतन्त्र वृद्धिकै बाटोमा लागिरहेको छ । चिनियाँ उपभोक्ताहरूको विशाल संख्या तथा क्रयशक्तिका कारण चीनको अर्थतन्त्र मजबुत रहिरहनेछ । 

आफूविरुद्धको भूराजनीतक चुनौती बढिरहेको (त्यसले आपूर्ति शृंखलामा समस्या निम्त्याउन सक्ने) अनि विश्व अर्थतन्त्र पनि कमजोर बनिरहेको स्थितिमा समेत चीनको अर्थतन्त्रको तस्वीर उज्यालो देखिएको छ । त्यसैले पश्चिमा सञ्चारमाध्यम भन्दा पनि अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता विश्वसनीय संस्थाहरूले गरेको प्रक्षेपणलाई आधार मान्दा चीनको अर्थतन्त्रले थप उचाइ पाउने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्