×

उपचुनावपछिको तरंग

कांग्रेसप्रतिको भरोसा पूरै टुटिसकेको छैन, तर जनताले सधैँ पर्खिँदैनन्: प्रदीप पौडेल [अन्तर्वार्ता ]

बैशाख १९, २०८०

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्टीले ६ सीट जितेको थियो । 

यति बेलासम्म ठूला दलले नतिजालाई खासै चिन्ताको विषयका रूपमा लिएका थिएनन् । प्रतिनिधिसभा निर्वाचनको ५ महिनापछि १० वैशाखमा चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भयो । ठूला दललाई १६५ क्षेत्रमा निर्वाचन हुँदा नलागेको झट्का उपनिर्वाचनमा तनहुँ र चितवनको नतिजाले लागेको छ ।


Advertisment

कांग्रेस र एमालेले पार्टी सदस्यको मत नै नपाउँदा नयाँ दलप्रति जनउभार देखिएको छ । नयाँ दल उदयको असर परम्परागत दल कांग्रेस र एमाले दुवैलाई पर्ने देखिएको छ ।


Advertisment

निर्वाचनले कांग्रेससहितका दललाई ‘सच्चिने कि सक्किने’ भन्ने ठाउँमा पुर्‍याएको छ । यिनै चुनौतीका बीचबाट अब कसरी उठ्ने ? सच्चिने भनेको के हो ? कांग्रेस कसरी सच्चिन्छ ? लगायतका प्रश्नहरूमा लोकान्तरका लागि रमेश सापकोटाले कांग्रेस युवा नेता एवं सांसद प्रदीप पौडेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सत्ता गठबन्धनका झण्डै १० दल एक ठाउँमा उभिँदा पनि अपेक्षित परिणाम ल्याउन सकेनन् । भर्खरै स्थापना भएको रास्वपा तपाईंहरूमाथि हावी भयो नि ? 

– सत्ता गठबन्धन गर्न जति सजिलो छ, निर्वाचनमा त्यत्ति सजिलो छैन । मंसिरमा देशैभर गठबन्धन भयो । तर, सबै भोट गठबन्धनको उम्मेदवारलाई आएन । 

यो पार्टीको भोट ट्रान्सफर गर्न सजिलो रहेनछ र अझ बढी असजिलो बन्दैछ भन्ने हो । दोस्रो, कुनै दलले मेरा जनता हुन् भनेर दाबी गर्न मिल्दैन । जनता न्याय र सही कुराको पक्षमा अनि गलत कामको विपक्षमा उभिन्छन् ।

जनताले विवेक प्रयोग गर्छन् । यसैले पार्टीको छाताभित्र मत रहने पहिलेको जस्तो स्थिति घट्दै गएको छ । जनताले स्वविवेकी बन्दैछन् । 

null

उपनिर्वाचनमा तीन क्षेत्रमा गठबन्धन गर्दा पहिलेको भन्दा कम मत आयो । पार्टीमाथि प्रश्न छन् । चित्तबुझ्दो जवाफ दिन नसकेको देखियो । जनताले विवेक देखाएर भोट हाल्ने परिस्थिति बन्यो । पहिले संघ र प्रदेशमा चुनाव हुँदा अलग दलका उम्मेदवार हुँदा सबै सक्रिय हुन्थे । तर, उपनिर्वाचनमा संघमा मात्रै दलको उम्मेदवार हुँदा अरू पार्टी सक्रिय भएनन् । यसले पनि गठबन्धनको मत एकीकृत हुन सकेन । 

भनेको चुनावी गठबन्धन त झन् जोखिममा पो देखियो उसो भए ? 

– निर्वाचनमा गठबन्धन गर्नु स्वाभाविक होइन । कांग्रेसले कम्युनिस्टको भोट ल्याउने, कम्युनिस्टले कांग्रेसको भोट ल्याउने अवस्था अब देखिएन । पार्टीको प्रभावभन्दा बढी उसका उम्मेदवारले प्रभाव पार्ने देखियो ।

उम्मेदवारले कस्ता विषय उठाएको छ, मतदाताको स्वार्थलाई कसरी हेरेको छ, कति भविष्य देखाउन सकेको छ भन्ने आधारमा मतदाताले मत हाल्ने स्थिति बनेको छ । 

भनेको परम्परागत दल र शक्तिको मुद्दामा नागरिक र मतदाता आकर्षित नभएका हुन् ? 

– पुराना दलसँग असन्तुष्ट हुनुपर्ने, अस्वीकार गर्नुपर्ने, पुराना काम अस्वीकार गर्नुपर्ने केही कारण छैन । परम्परागत दलको मतभन्दा पनि उनीहरूको चल्ने तरिकासँग, मुद्दासँग, परम्परागत ढर्राबाट आफूलाई बाहिर ननिकालेका कारणले मतदाता र नागरिक असन्तुष्ट हुन सक्छन् । तर, जनताले काम गर्ने शैली फेर, परम्परागत मुद्दालाई समयसापेक्ष बनाऊ, आमजनता र मतदाताका स्वार्थलाई समेट्ने र सम्बोधन गर्ने गरी एजेन्डा बनाऊ र परिवर्तनलाई आत्मसात गर भनेका हुन् ।

विवादित निर्णयप्रति टिकाटिप्पणी देखियो जनताको पक्षमा नभएको जस्तो देखियो । देशका तमाम समस्यालाई केन्द्र भागमा राखेर पार्टी चलाउनुपर्छ भनेर करेक्सनका निम्ति संकेत गरेको जस्तो देखिन्छ । 

null

लोकप्रिय उम्मेदवार उठाउँदा पनि पार्टीको सदस्यता गोजीमा बोक्नेले समेत कांग्रेस–एमाले नरोजी रास्वपाका उम्मेदवार रोज्नु तपाईंहरूका निम्ति चुनौती होइन ? 

– उपनिर्वाचन तीन क्षेत्रमा भए पनि संकेत देशैभरी भएजस्तो दिएको छ । तनहुँमा उम्मेदवारको व्यक्तित्वले पनि काम गर्‍यो । रामचन्द्र पौडेल शिखर व्यक्तित्व हुनुहुन्थ्यो । दोस्रो गठबन्धनको एउटा मात्रै उम्मेदवार भए ।

गठबन्धनको दोस्रो दल माओवादीको सबै मत नपरेको हुन सक्छ । कांग्रेसकै जमिनमा उभिरहनुभएको गोविन्दराज जोशी अघिल्लोपटक स्वतन्त्र लड्नुभएको थियो । योपटक उहाँ लड्नुभएन । त्यो मत कांग्रेसतिर नआएको पनि हुन सक्छ । कांग्रेसको मत तनहुँमा धेरै स्खलित भएको र बिग्रिएको भन्ने लाग्दैन । कांग्रेसको उम्मेदवार पनि निर्विवाद व्यक्ति हुनुहुन्थ्यो । 

चितवनमा भने पहिलेकोभन्दा मत घटेको छ । त्यहाँ गम्भीर समीक्षा गर्नुपर्छ । तर, उपनिर्वाचनको समग्र परिणामलाई समीक्षा गरेर अगाडि बढ्ने र सच्चिनुपर्ने अवसर प्राप्त भएको छ । 

तनहुँमा कांग्रेसको ५ हजार मात्रै मत घट्दा एमालेको ११ हजार मत घट्यो । एमालेको मत रास्वपामा जाँदा कांग्रेस उम्मेदवार हारेका हुन् ? 

– एमाले नेतृत्वको चाहना के थियो थाहा भएन । तर, परम्परागत रूपमा एमालेलाई भोट हाल्दै आउनुभएका मतदाताले मत फेरेको जस्तो देखिन्छ । त्यो मत कांग्रेसलाई पक्कै आएन किनभने त्यहाँ कांग्रेस र एमाले सधैंका प्रतिस्पर्धी हुन् । एमालेले त्यहाँ १९ हजार मत छ भनेर दाबी गर्दै आएको छ । तर अहिले ८ हजार हाराहारी मत आएको छ । एमालेको १० हजार भोट रास्वपातिरै गएको भन्ने लाग्छ । 

भनेपछि कांग्रेस हार्नुको कारण एमालेको मत रास्वापातिर जानु नै हो उसो भए ? 

– हो, निर्णायक मत नै त्यही हो । 

null

कांग्रेसका उम्मेदवार निर्विवाद र योग्य थिए । पार्टीले पनि लोकप्रिय युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मासहितलाई प्रचारमा खटाए पनि उहाँहरूले समेत मतदातालाई आकर्षित गर्न नसकेको हो ? 

– गोविन्द भट्टराई राष्ट्रिय व्यक्तित्व भएको कारणले तनहुँमा यो चुनावमा कांग्रेसका प्रायः नेता पुग्नुभयो । कांग्रेसका नेता काठमाडौंबाट एकछिनका लागि गएर प्रभाव पर्छ भन्ने लाग्दैन ।

पार्टीले निर्वाचनलाई महत्त्व दिएर सहयोग र समर्थन गराउन खोज्नु स्वाभाविक हो । तर हामीले ‘पपुलर सेन्टिमेन्ट’ जोड्न सकेनौं । रास्वपाको उम्मेदवारसँग त्यो ‘सेन्टिमेन्ट’ जोडिएको देखियो । यसलाई स्वीकार्नुपर्छ ।

उपनिर्वाचनको परिणामले हामीलाई समीक्षा गर्ने बाटोमा पुर्‍याएको छ । गम्भीर, निष्पक्ष र तटस्थ समीक्षा गरेर अगाडि जाँदा यो घटनाले हामीलाई लाभान्वित गराउँछ । 

१६५ क्षेत्रमा नआएको कम्पन तनहुँ र चितवनले उपनिर्वाचनमा ल्याएपछि ‘सच्चिने कि सक्किने’ भन्ने शब्दावली ट्रेन्डकै रूपमा स्थापित भयो नि ? 

– निर्वाचनबाट सिक्ने कुरा जहिल्यै पनि हुन्छ । ८९ सीट जितेको कांग्रेसको एक सीट घटेको छ । धेरै क्षति बेहोर्ने स्थिति नहुँदा पनि धेरै सिक्ने अवसर पाएका छौं । 

पहिले आफूभित्रै सच्चिने हो । विधि, विधान, पद्धतिअनुसार चल्ने हो । किनकी हाम्रो सधैंको समस्या र कमजोरी पार्टी सञ्चालनको शैलीमा छ । यसले आमरूपमा निराशा बढाएको छ । 

पार्टीलाई लोकतान्त्रिक निर्णय प्रक्रियामा अगाडि बढाउनुपर्छ । निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ । राष्ट्रिय मुद्दामा प्रस्ट हुनुपर्छ । स्थानीय तहमा हाम्रा धेरै सरकार छन् । संघीय संसदमा ठूलो पार्टी छौं । सातवटै प्रदेशमा अधिकांशमा ठूलो पार्टीका रूपमा छौं । सरकारमा पनि भएकाले नतिजा दिने गरी काम गर्नुपर्छ । 

कांग्रेसले प्राथमिकता फेरेको छ । मेसेज दिन खोजेको छ । गलत कुराप्रति नीर्भिक भएर उभिएको छ । बेथितिलाई अन्त्य गर्ने लक्ष्य बनाएको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा छ भनेर आम जनतालाई महसूस गराउनुपर्छ । विकास निर्माण, समृद्धि र रोजगारका पक्षमा उत्रिनुपर्छ । राजनीतिका बेथति अन्त्य गरी आर्थिक विकासको लक्ष्यमा अगाडि बढ्ने संकल्पतिर लाग्नु नै सच्चिनु हो । तर, सबै सकिएको र बिग्रेको स्थिति होइन । 

सरकार मन्त्री चयन र हेरफेरको प्रक्रियामा ५ महिनादेखि अल्झिएको छ । लोकतन्त्र प्रक्रियामा सीमित हुने नागरिक सबाल र सरोकारसँग नजोडिने स्थिति बन्नु दुःखद् होइन ? 

– सरकारमा जाने, मुकदर्शक बन्ने, केही मन्त्री पठाएर मख्ख पर्ने, मन्त्री भएकोमा मख्ख पर्ने, आफ्नो टीमका मन्त्री बनाउने नै लक्ष्य हो भने सकिने बाटोमै जाने हो ।

हामी सरकारमा छौं । यसको अपजस सबैभन्दा बढी हामीलाई आउँछ । राम्रो काम गर्नुपर्छ भन्ने गम्भीरता र हुटहुटीले काम गर्नुपर्छ । तर, ग्याप धेरै छ । नयाँ ढंगले जान खोजेको जस्तो देखिँदैन, बरु अलमल छ । यो अलमलले गठबन्धनलाई नै फाइदा हुँदैन । दोष आउने, अपजस आउने, असन्तुष्टि देखिने, गठबन्धनको विकल्प जनताले खोज्ने, पुरानो पार्टीले केही गर्दैनन् भन्ने स्थापित हुने र विकल्पमा जाने बाटो खुल्छ । 

संघ, प्रदेश र स्थानीय सरकारका काम गराइमा परिवर्तन गराउने, डेलिभरी दिने र नयाँ ढंगबाट चलेको कुरा कामबाटै देखाउनुपर्छ । यी काम गर्न सक्दा हामीमाथिका टिकाटिप्पणी सकारात्मक दिशातिर जान्छन् । जनताका समस्यासँग हामी लागेको छौं भन्ने स्थापित गर्न सकिए अर्को निर्वाचन हाम्रो लागि राम्रो हुन्छ ।

जनताले विकल्प खोज्ने परिस्थिति बन्दैन । तर सरकारमा जाने, केही मन्त्री अदलबदल हुने, तर काम केही नहुने हो भने ठूलो समस्या ल्याउँछ । 

null

तपाईंहरूमा यस्तो अलमल छ । तर नयाँ दल रास्वपा अर्को निर्वाचनबाट बहुमत ल्याउने दाबी गरिरहेको छ । यो तपाईंहरूका लागि चुनौती होइन ?

– रास्वपालाई बाहिर बसेर कुरा गर्न सजिलो छ । प्रतिपक्षमा बसेर आक्रामक ढंगले बेथितिमाथि प्रहार गरिरहनुभयो भने उहाँहरूको लोकप्रियता अझै बढ्न सक्छ । सत्ताभन्दा बाहिरबाट रचनात्मक बन्दा सहज हुन्छ । हिजो हामीमात्रै डेमोक्रेटिक स्पेसमा थियौं, तर आज अरू पनि उपस्थित भएको स्थिति छ । यसले हामीलाई थ्रेट फील भएको छ । चुनौती थपिएको छ । यसको सामना गर्ने प्रोग्रेसिभ मुद्दा हामीले नै उठाउने हो ।

०१५ सालमा बीपी कोइरालाले कम्युनिस्टको भन्दा प्रोगेसिभ मुद्दा उठाउनुभयो । दुईतिहाइ ल्याउनुभयो । बेथितिविरुद्ध सबैभन्दा बढी लडेको हामी नै देखिनुपर्‍यो । सरकारमा राम्रो काम गर्नुपर्‍यो । सुशासनको पक्षमा वकालत गर्नुपर्‍यो । टिकाटिप्पणी भएको विषयलाई अन्त्य गर्नुपर्‍यो । प्रतिस्पर्धामा अब्बल सावित हुनेगरी काम गर्नुपर्छ । 

आशाको नजरले हेरिएका हामीहरू हौं भने पार्टीभित्रैका बेथितिलाई सुधानुपर्छ । देशका मुद्दालाई पनि सही ढंगले बोकेर हिँड्न सक्नुपर्छ । यस्तो भए कांग्रेसप्रति नै विश्वास बढाउन सकिन्छ । 

रास्वपाको उदयबाट प्रजातान्त्रिक पार्टी भएको नाताले जोखिम कांग्रेसलाई नै सबैभन्दा बढी देखिएको हो ? 

– खुला मत कांग्रेससँगै थियो भन्ने ‘न्यारेटिभ’ छ । सबै डेमोक्र्याट कांग्रेस हुन सक्दैनन् । डेमोक्र्याटको विकल्प नभएकाले कांग्रेसलाई पत्याइरहेका हुन् । यसैले डेमोक्रेटिक स्पेसभित्र अरू पार्टी जन्मिएपछि हामीलाई नै चुनौती हुने हो । तर चुनौतीरहित भएर राजनीतिमा नेतृत्व गर्न पाइँदैन । हामीले खोजेकै प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली हो ।

बहुदलीय व्यवस्था, मल्टीपार्टी प्रणालीको वकालत गर्ने मान्छे हामी हौं । पार्टीहरू धेरै हुनुपर्छ । वैचारिक प्रतिस्पर्धा हुनुपर्छ । धेरै पार्टीमध्ये जनताले पत्याएको पार्टीले नेतृत्व गर्नुपर्छ । हामीले बनाउन खोजेको शासकीय स्वरूप नै यस्तो हो । यही प्रणालीअनुसार नयाँ राजनीतिक पार्टी आउनु हाम्रो दर्शन र प्रणालीअनुसार नै हो । नयाँ आउनेलाई रोक्नु हुँदैन । रोक्न पनि सकिँदैन । नयाँ आएपछि चुनौती थपिन्छ । 

भनेको नयाँ पार्टीको आगमन सच्चिनका लागि अवसर हो उसो भए ? 

– हो, पुरानालाई सच्चिने अवसर नयाँ पार्टीले दिएका छन् । राजनीति प्रतिस्पर्धात्मक बन्छ । यसैले यसलाई सकारात्मक ढंगले हेर्नुपर्छ । यसलाई सकारात्मक ढंगले हेर्ने भनेको सच्चिने कुरा महसूस गर्ने हो । बदलिनका लागि तयार हुने हो ।

प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न जरुरी छ । सबैभन्दा पहिले जनताको कुरा मैले ल्याउन आवश्यक छ । मेरो पार्टीले ल्याउन आवश्यक छ । यसैले हिजोको जस्तो प्रतिस्पर्धारहित अवस्थामा हामी छैनौं । कांग्रेस कम्युनिस्ट भनेर नेपाली समाज ध्रुवीकृत थियो । प्रशस्त पार्टीहरूका बीचमा छनोट गर्ने स्थिति बनेको छ । पार्टीभित्र पनि व्यक्ति छनोट गर्ने स्थिति बनेको छ ।

०५०/५२ सालमा कांग्रेस कम्युनिष्ट भएर मेलापात नजाने स्थिति थियो । आज त्यस्तो साँघुरो घेरामा मतदाताहरू छैनन् । विवेक प्रयोग गर्ने, को कस्तो हो भनेर चिन्ने, कसले कहाँ गल्ती गरेको थियो भनेर खोज्ने, प्रश्न गर्न सक्ने क्षमता मतदातामा बढेको छ । त्यसैले प्रतिस्पर्धात्मक अवस्थामा सबै ढंगले आफूलाई सच्च्याउनु र समयसापेक्ष बनाउनुपर्छ । मुद्दामा प्रस्ट हुनुपर्छ । हामीसँगको सकारात्मक पक्ष इतिहास सुनौलो हुनु हो । तर, सुनौलो इतिहास मात्रै सम्झाएर अब मत प्राप्त हुन सक्दैन । सुनौलो भविष्य दिनेगरी आममतदातालाई अपिल गर्न सक्नुपर्छ । 

१४ औं महाधिवेशनको डेढ वर्षमा केन्द्रीय समिति, विभाग, भ्रातृ संस्थाजस्ता संरचना भद्रगोल हालतमा छन् । भद्रगोल पार्टीले सुशासन दिन्छौं, बेथिति अन्त्य गर्छौं भनेको जनताले कसरी पत्याउने ? 

null

– अहिले जे भइरहेको छ यो पहिलेदेखिकै भद्रगोल स्थिति हो । यो कुरा १२ औं महाधिवेशनदेखि नै निरन्तर उठाइरहेका छौं । तर, उठाउनकै लागि उठाएको जस्तो भइरहेको छ ।

यथास्थितिलाई नै निरन्तरता दिने काम भएको छ । पार्टीमा यस्तै भइरहँदा नागरिक, शुभेच्छेक र मतदातामा झन् बढी निराशा छाउँछ । यस्तै गरेर पनि हामीले नेतृत्व लिइरहन सक्छौं भनिरहने हो भने अधोगतिको अवस्थामा मात्रै हुन्छ ।

हामीले परिवर्तन गर्ने र बदल्ने भनेका विषय नै यिनै हुन् । आन्तरिक लोकतन्त्र स्थापित गर्ने, पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउन धेरै कुरा परिवर्तन गर्न आवश्यक छ भनिरहने तर कहिल्यै सुधार नहुने हुँदा प्रतिस्पर्धामा हामी पछाडि पर्ने स्थिति हुन्छ । 

यसैले पार्टी संरचनालाई समयमै व्यवस्थित र पूर्ण बनाएर प्रभावकारी ढंगले चल्न नेतृत्व तयार हुनुपर्छ । यसपछि बल्ल राष्ट्रिय मुद्दामा अघि बढ्नुपर्छ । नीतिगत र वैचारिक विषयमा प्रस्ट भएर जाँदा कांग्रेस सच्चिएको र नयाँ ढंगबाट आउन खोजको सन्देश जान्छ । एकैचोटी हामीमाथि टिकाटिप्पणी अन्त्य हुने र भरोसा अन्त्य हुने अवस्था बन्छ ।

आममान्छेको भरोसा र प्रेम कांग्रेसप्रति छ । यो पार्टी सप्रिदिए हुन्थ्यो, राम्रो ढंगले अघि बढे हुन्थ्यो, बेथिति नभइदिए हुन्थ्यो, कमीकमजोरी अन्त्य भइदिए हुन्थ्यो र यो पार्टीले नेतृत्व गरिदिए हुन्थ्यो भनेर अहिले पनि जनतामा छ । तर जति शुभेच्छा राख्दा पनि कांग्रेसले आफूलाई सच्च्याएन भने त मान्छेले हामीलाई पर्खिएर बसिरहँदैन । अन्तिममा यो यसरी नै चल्ने हो । यसले आफूलाई कहिल्यै पनि परिवर्तन गर्दैन । परिवर्तनको आवश्यकता महसूस नै गर्दैन र यसलाई सपार्न खोज्नु नै व्यर्थ छ भन्ने निष्कर्ष निस्कन सक्छ । यो निष्कर्षसम्म नागरिक पुग्ने गरी समय लम्ब्याइराख्दा ढिला भइसक्छ ।   

null

सच्चिने भनेको नेता बदल्ने हो कि गलत प्रवृत्ति बदल्ने हो ? 

– नेता र प्रवृत्ति दुवै बदल्ने हो । नेतृत्वले गर्न चाह्यो भने धेरै छिटो हुन्छ । नेतृत्वले कमीकमजोरी सुधार्‍यो भने समग्र पार्टी सुधारतिर जान्छ । यसैले मुख्य जिम्मेवारी नेतृत्वकै हुन्छ । तर नेतृत्वको प्रवृत्तिगत अवस्था तलैसम्म झांगिएको छ । यसैले प्रवृत्ति पनि बदल्न जरुरी छ । प्रवृत्ति बदल्न ‘टप टु बटम’ हुनुपर्छ । माथिबाटै यो खालको प्रवृत्ति अन्त्य गर्नुपर्छ ।

माथि आफ्नै लागि मात्रै निर्णय गर्ने, गुटमात्रै संरक्षण गर्ने, राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्न नसक्ने, सकारात्मक सन्देश दिन नसक्ने, समयको मागको हेक्का नहुने स्थितिले धेरै पछाडि पार्छ । फेरिएको समय र बदलिएको परिस्थितिअनुसार नेतृत्व तथा आम पार्टीपंक्ति बदलिन जरुरी छ । 

दोस्रो आजको राजनीति विचार, कार्यक्रम र योजनामा निर्भर छ । यिनीहरूमा शून्यता भयो भने कम्तीमा कांग्रेसजस्तो पार्टीले ‘सर्भाइभ’ गर्न सक्दैन किनकी यो शक्ति सञ्चय गरेर चल्ने पार्टी होइन, विचारको विकास गरेर चल्ने पार्टी हो ।

बीपीको समयमा जति वैचारिक खुराक र मुद्दाहरू ल्याउन सक्नुभयो हामीले आजका दिनमा त्यत्ति मुद्दा ल्याउन सकेका छैनौं । पुरानै ढर्रामा नयाँ तरंग आउने गरी पार्टीलाई विकास गर्न सकिँदैन । आशा र भरोसा हुने गरी सन्देश दिन सक्दैनौं । वैचारिक पक्षबाट, कार्यशैलीबाट र विषयगत स्पष्टताका साथ अगाडि बढ्नुपर्छ ।

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८१

कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

असार २४, २०८१

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेर एउटा सन्देश प्रवाह गरेको छ । असार (१६–२१)मा सम्पन्न महाधिवेशनले पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र ...

x