
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की नेदरल्यान्ड्सको द हेग पुगेका छन् ।
त्यहाँ उनले बिहीवार सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले त्यहाँ अन्तर्राष्ट्रिय फौजदारी अदालतको भ्रमण पनि गर्नेछन् । उक्त अदालतले युक्रेनमा रुसले गरेको भनिएको युद्ध अपराधको अनुसन्धान गरिरहेको छ ।
यसैबीच युक्रेनले ड्रोन आक्रमण गरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न खोजेको आरोप मस्कोले लगाएको छ । तर जेलेन्स्कीले उक्त आक्रमण आफूहरूले नगरेको बताएका छन् ।
बुधवार जेलेन्स्कीले फिनल्यान्डमा गएर सम्बोधन गरेका थिए । उनले त्यहाँ नर्डिक मुलुकका सरकारप्रमुखहरूसँग कुराकानी गरेका थिए ।
नेदरल्यान्ड्स भ्रमणमा जेलेन्स्कीले त्यहाँका प्रधानमन्त्री मार्क रट्टेलाई भेट्ने कार्यक्रम छ । उक्त भेटघाटमा जेलेन्स्कीले लामो दूरीको हतियार र लडाकू विमान सहयोग गर्न अनुरोध गर्ने बताइएको छ ।