
काठमाडौँको सिफलस्थित क्लब हाउस रेस्टुरेन्टमा १८–४० वर्ष उमेर समूहका १० जना दृष्टिविहीन महिलाहरू छन् । उनीहरू खाना पकाउन सिक्दैछन् । कोही प्याज काट्न व्यस्त छन् भने कोही अदुवा र लसुन कुटिरहेका छन् । कोही गोलभेडा र पनिर काटिरहेका छन् ।
उनीहरूलाई खाना पकाउने तालिम दिइँदै छ । उनीहरू ग्यास बाल्ने, खाना पकाउनेदेखि भान्सा सफा गर्नेसम्मको तालिम लिँदै छन् । तालिम दिने व्यक्ति पनि दृष्टिविहीन नै हुन् ।
हामी त्यहाँ पुग्दा १० जना दृष्टिविहीन महिलालाई नविना ज्ञवालीले खाना पकाउने तालिम दिइरहेकी थिइन् ।

एकैछिनमा उनले ग्यास कसरी बाल्ने ? लाइटर कसरी समाउने ? भाडा ग्यासमा कसरी राख्ने ? तेलको भाडाको बिर्को कसरी खोल्ने ? तेल कसरी हाल्ने ? तेल तातेको कसरी थाहा पाउने ? यी सबै कुराहरू सिकाउन शुरू गरिन् ।
आँखा नदेख्नेले नदेख्नेलाई नै सिकाउँदा सिकाइ प्रभावकारी हुने उनले बताइन् । ‘सिकाउन त जसले पनि सिकाउँछ । तर, आँखा नदेख्नेलाई आँखा नदेख्नेले नै सिकाउँदा उहाँहरूले बुझ्नुहुनेछ,’ उनले लोकान्तरसँग भनिन्, ‘पकाउने तरिका सिकाउन म यहाँ छु ।’

खाना पकाउने तरिका सिकाउँदै उनले भनिन्, ‘मेरो सिकाउने आफ्नै तरिका छ ।यहाँ आँखा देख्ने तीन जना साथीहरू पनि हुनुहुन्छ, जसले आँखा देख्नेले कसरी काम गर्छन्, त्यो तरिका सिकाउनुहुन्छ, यसले गर्दा उहाँहरूले झन् सशक्त तवरले सिक्नुहुनेछ ।’
मिठो खान जान्नेले मिठो पकाउन पनि जान्नुपर्छ । उनी भन्छिन्, ‘त्यसैले तालिम दिँदैछौँ । हामीसँग तालिम लिन आउनेहरूलाई शुरूमा कुकरको बिर्कोसमेत लगाउन आउँदैनथ्यो, हामीले सानो सानो कुराबाट सिकाइरहेका,’ उनले भनिन् ।

काठमाडौंकी सोनु ज्ञवालीले तालिम लिइरहेकी थिइन् । आफ्नो लागि आफैँ पकाउन सक्दा आमाबुवालाई दुःख नहुने उनको बुझाइ छ । ‘म घरमा एक्लै हुँदा मलाई के पकाएर राख्ने भन्ने आमा–बुवालाई धेरै चिन्ता हुन्छ । किनकि मैले पकाउन सक्दिनँ । त्यही भएर यो तालिम लिन आएकी हु,' उनले भनिन्, 'कमसेकम मैले आफ्नो लागि मात्र भए पनि खाना पकाएर खान सक्ने भए मेरो आमाबुवालाई दुःख हुँदैन्थ्यो ।’
आमाबुवा काम गर्न घरबाट बाहिर निस्किँदा उनका लागि केही पकाएर जाने गरेको उनले बताइन् ।

ज्ञानुजस्तै सिन्धुपाल्चोककी सम्झना रिजालले पनि खाना पकाउने तालिम लिइरहेकी छिन् । आफ्ना लागि आफै खाना पकाउन सक्ने बन्न तालिम लिन आएको उनले बताइन् । ‘हामी आफ्नै तरिकाले इन्डिपेन्डेट हुन धेरै कोसिस गर्छौं, अफिस जान्छौं, काम गर्छौं तर सबैभन्दा पहिला हामी आफ्नै घरबाट इन्डिपेन्डेन्ट हुनुपर्छ,’ उनले भनिन्, ‘आफ्नो लागि आफैंले खाना पकाउन सक्ने हुनुपर्छ, त्यसैले तालिममा सहभागी भएको हुँ ।’

अब घरमा कोही नहुँदा पनि खाना पकाउन सक्ने उनले सुनाइन् । ‘हामीले खाना पकाउँदा बास्ना सुघेर थाहा पाउँछौं, जस्तो प्याज भुट्दा खैरो भएको कुरा बास्नाले थाहा पाउँछौं,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।
नुवाकोटकी समी तामाङले तालिममा भाग लिएर तरकारी काट्न, चिया पकाउन, खाना र तरकारी बनाउन सिकेको बताइन् । उनले प्रशिक्षक नविनालाई धन्यवाद दिँदै भनिन्, ‘पहिला मलाई घरमा दिदीले दाल पकाउन सिकाउनुभएको थियो । यहाँ आएर भान्छामा पाक्ने सबैकुरा पकाउन सिकें, पकाउनेदेखि तरकारी कसरी काट्ने सबै सिकें,’ उनले भनिन् ।

सहयोगीको रूपमा क्लब हाउसका सञ्चालक तथा सेफ आदेश गौतमले भूमिका खेलिरहेका छन् । उनी आँखा देख्न सक्ने हुन् । ‘दृष्टिविहीन र दृष्टि हुनेबीच जुन अन्तर छ, त्यसलाई पूर्ति गर्ने काम म र नविनाजीले मिलेर गरेका छौं, यो तालिम दिनुको उद्देश्य पनि यही हो,’ उनले भने ।
तालिम दृष्टिविहीनका लागि सपोर्टिभ एक्सन टुवार्डस् ह्युमानिटी (साथ)द्वारा संचालित थियो । २१ अप्रिलदेखि २७ अप्रिलसम्म क्लब हाउस रेस्टुरेन्टमा चलेको तालिममा १० जना दृष्टिविहीन महिलाहरूको सहभागिता थियो ।