
नक्कली भुटानी शरणार्थी प्रकरणमा देश नै तरंगित भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
दुई चरणसम्म एमाले अध्यक्ष ओलीसँग प्रचण्डले भेट गरेका थिए । आइतवार शीर्ष तीन नेताबीच कुराकानी भएपछि फेरि मंगलवार प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले पनि तीन नेताबीच डेढ घण्टा छलफल भएको जानकारी दियो । बैठकपछि तीनै नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । तर प्रधानमन्त्रीको सचिवालयले बजेट, संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिश गरेपछि नियुक्तिका लागि संसदीय सुनुवाई समितिको बैठक, विभिन्न विधेयक, शान्ति प्रक्रियाका कामसहितका विषयमा छलफल भएको जानकारी दियो ।
एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पनि संसदीय समितिको पूर्णता, प्रधानन्यायाधीश सिफारिशपछि सुनुवाइका कामसहितका विषयमा छलफल भएको जानकारी दिए ।
‘संसदीय समितिको पूर्णता, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइको काम, सत्य निरुपण तथा मेलमिलाप आयोगसहितका विषयमा पहिले छलफल गरेर छाडेकै स्थितिबाट तीन नेताबीच छलफल भएको हो ।’
तर, तीन नेताबीचको छलफल नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रित नभएको दाबी बजगाईंले गरे ।
‘शरणार्थीको विषयमा कानूनअनुसार अनुसन्धान हुनुपर्छ, तर अनुसन्धानमा जोगाइदिनू, बचाइदिनू, भन्ने अध्यक्षको पटक्कै छैन,’ बजगाईंले भने, ‘निष्पक्ष छानबिन हुनुपर्यो । दोहोरो मापदण्ड हुनुभएन । फलानोको नाम आयो भनेर हटाइयो भन्नु भएन । मन्त्रीले ताकेता गरेर जिल्ला प्रशासनलाई पत्राचार गरेको जस्ता विषय हटाएर अनुसन्धानलाई खुकुलो बनाउनुभएन भन्ने अध्यक्षको कुरा छ ।’
यसअघि ओलीले दुईपटकसम्म प्रधानमन्त्रीसँग भेटेर तथ्यगत अनुसन्धान अगाडि बढाउन माग गरेका थिए । राजनीतिक प्रतिशोध साँधे आफूलाई मान्य नहुने बताएका थिए । यो ठगी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता समेत तानिन थालेपछि प्रधानमन्त्री पनि दबाबमा आएको बताइन्छ । तर एमालेले प्रभावकारी छानबिनमा जस्तो सहयोग गर्नुपरे पनि तयार रहने आश्वासन प्रधानमन्त्रीलाई दिएको छ ।
‘यो घटनामा जो–जो सहभागी छन्, तिनीहरूमाथि भरपर्दो अनुसन्धान र कारबाहीको पक्षमा हाम्रो अध्यक्ष हुनुहुन्छ,’ बजगाईंले भने, ‘जो–जो दोषी देखिन्छन्, उनीहरूमाथि अनुसन्धान अगाडि बढोस् भन्ने अध्यक्षको माग हो । यसका लागि सरकारलाई जस्तो समर्थन चाहिन्छ, त्यस्तो समर्थन गरिदिउँला भन्ने अध्यक्षको प्रस्ट लाइन छ ।’ तर, यस्तो सहयोग सत्तासमीकरणसँग नजोडिएको उनको भनाइ छ ।