
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने अनुमति सिफारिसका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लैजाँदा उनले कुनै प्रतिप्रश्न तथा प्रतिवाद गरेनन् ।
प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसहित बुधवार बिहान पक्राउ गर्न लाग्दा खाँणले प्रतिवाद गरेको भए पनि सरकारी वकिल कार्यालयमा भने कुनै प्रतिवाद गरेनन् ।
‘आज उहाँलाई म्याद थपका लागि सिफारिस गर्न सरकारी वकिल कार्यालयमा ल्याइएको थियो,’ एक सरकारी वकिलले लोकान्तरसँग भने, ‘त्यस क्रममा हामीले उहाँको मानव अधिकारको उच्च ख्याल राखेका थियौं ।’
झण्डै ४५ मिनेट सरकारी वकिल कार्यालयमा बिताएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयले पानी र चिया समेत खुवाएको थियो । ‘प्रहरीले बाहिर के गर्छन्, त्यस विषयमा हामीले हेर्दैनौं तर हाम्रो कार्यालयमा जुनसुकै प्रतिवादीलाई बयानका लागि वा म्याद थपका लागि ल्याउँदा हत्कडी लगाइएको हुँदैन, त्यो पाइँदैन पनि,’ ती सरकारी वकिलले थपे, ‘सोही क्रममा पूर्व गृहमन्त्री खाँणलाई पनि अन्य सर्वसाधारण नागरिकसरह नै विना हत्कडी हाम्रो कार्यालयमा ल्याइएको थियो ।’
बुधवार उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेको हुनाले बुधवार बयानका लागि लगिएको थिएन । जरुरी पक्राउ पुर्जीलाई काठमाडौं जिल्ला अदालतबाट अनुमोदन गराउन तथा ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गराउनका लागि म्याद लिन अदालतमा सिफारिस गर्नका लागि सरकारी वकिल कार्यालय लगिएको थियो ।
‘आज हामीले उहाँको बयान लिने काम गरेका थिएनौं, म्याद मात्र थप भएको हो,’ ती सरकारी वकिलले लोकान्तरसँग भने, ‘प्रहरीले पक्राउ गरेर ल्याएपछि के आधारमा पक्राउ गरेको हो भन्ने विषयमा प्रहरीसँग ब्रिफ लिएका थियौं ।’
के–के आधारमा समातिएको हो भन्ने ब्रिफ लिँदा प्रहरीले केही आधारहरू सरकारी वकिललाई सुनाएका थिए । ‘खाँण र बिचौलिया, खाँण र तत्कालीन सचिव टेकनारायण पाण्डे, खाँण र उनका स्वकीय सचिवबीच भएको च्याट, एसएमएसलाई आधार बनाइएको छ,’ उनले थपे, ‘त्यसैगरी उहाँको पीएले पैसा बुझेको देखिन्छ । यी सबै आधार रहेको भन्दै प्रहरीले थुनामा राखी अनुसन्धान गर्न म्याद थप्नुपर्ने भन्दै सिफारिसका लागि ल्याएको थिए ।’
खाँणले सरकारी वकिल कार्यालयमा न त कुनै प्रतिवाद गरे, न त कुनै प्रतिप्रश्न नै गरे । ‘जरुरी पक्राउ पुर्जी काठमाडौं जिल्ला अदालतबाट अनुमोदन गराउन तथा म्याद थप गराउनका लागि उहाँले प्रतिवाद गर्न चाहेको भए अदालतमा बहस नै पनि गराउन सक्नुहुन्थ्यो,’ उनले थपे, ‘त्यस्तो अवस्था आएन । त्यस्तो अवस्था आएको भए हामीले पनि बहस गर्न जानुपर्ने हुन्थ्यो ।’
अब भोलि बिहीवार उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिनेछ । त्यतिबेला उनलाई प्रहरीसँग भएको आधार, अन्य प्रतिवादीले गरेको बयान आदिको आधारमा जिल्ला सरकारी वकिल कार्यालयमा बयान गराइनेछ ।
बुधवार सरकारी वकिल कार्यालयमा उनलाई उपस्थित गराउँदा उनको व्यवहार सामान्य थियो । ‘प्रहरी हिरासतमा १ रात पनि नबिताएको हुनाले उहाँको व्यवहार सामान्य नै लागेको थियो,’ उनले थपे, ‘हामीले चिया पानी खुवाउने काम गरेका थियौं । उहाँले पनि चिया र पानी खानुभयो ।’
जिल्ला सरकारी वकिल कार्यालयको सिफारिसमा काठमाडौं जिल्ला अदालतले जरूरी पक्राउ पुर्जी अनुमोदन गर्नुका साथै ४ दिनका लागि थुनामा राख्ने म्याद दिएको छ ।