
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।
रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायांकन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए । यो फिल्मको छायांकन नेपाल, क्यानडा र अस्ट्रेलियामा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।
निर्देशक निरौलाका अनुसार फिल्मका लागि कलाकारहरूको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ’ – उनले भने ।
निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका फिल्म भन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत दाबी गरे । निरौलाको निर्देशनमा यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण भइसकेका छन् ।