
नेपाली सेनाले बुटवलस्थित मध्यपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ ।
रक्षा सम्बद्ध संचारकर्मीहरूलाई सेनाको सांगठनिक स्वरूप, कार्यसञ्चालन प्रक्रियालगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको शुरूवात गर्दै जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले कार्यक्रमको महत्व र आवश्यकताका बारेमा जानकारी गराएका थिए । मध्यपश्चिम पृतनाका चीफ अफ स्टाफ सहायक रथी माधव थापाले सहभागीहरूलाई स्वागत गरेका थिए ।
यसैगरी श्री नं. २२ बाहिनीका बाहिनीपति सहायक रथी ललितबहादुर कुँवरले संचारकर्मीहरूलाई सेनाका बारेमा बुझ्न यो कार्यक्रम फलदायी हुने बताएका थिए ।
कार्यक्रममा रक्षा मन्त्रालयका प्रतिनिधि उप–सचिव फणिन्द्र पोखरेल तथा अधिकृतहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा छलफल हुनेछ ।
यस्तै, सहभागीहरूले पाल्पा दरबार तथा ऐतिहासिक जीतगढी किल्लालगायतको समेत भ्रमण गर्ने सेनाले जनाएको छ।