
म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम शुरू गरेको छ ।
दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
भौगोलिक रूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले अभियानको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण संकलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण संकलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नम्बर १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनले बताए ।
गुर्जामा ६ जना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताए । सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण संकलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ ।
सो कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालू आवमा २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।