
बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।
गएको २ हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने लगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।
उनले भने, ‘विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ । विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।’
५ वर्ष पहिला पनि विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । बिहानको समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन् । समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको प्रधानाध्यापक चन्दको भनाइ छ ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुने लगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए । उनले भने, ‘शुरूमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ । शुरूमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ ।’
विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले सुझाव दिए । उनले भने, ‘शुरूमा १ विद्यार्थीमा यस्तो समस्या देखिने र बिस्तारै अरुमा पनि लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ ।’