
‘काल आयो भने स्याल शहर पस्छ रे !’ आफ्नो बासस्थान छोडेर बेसुरमा शहर कुदेको स्याल कहाँ कसको आक्रमणमा पर्ने हो पत्तो हुँदैन । यो उखान कुनै बेला उदाएर सकिएको प्रजा परिषद् नामक एक दलमाथि अहिलेका पुराना दलहरूले गरेको व्याख्यात्मक टिप्पणी सान्दर्भिक देखिन्छ । पुराना दलका नेतासामु अहिले हर्क साम्पाङ र बालेन साहको नाम मात्रै लियो भने मुन्टो बटार्छन्, प्रशंसा त परको कुरा । यी दलहरू सोच्दैनन् हर्क र बालेन चर्चामा छन्, हाम्रा मेयरहरू के गरिरहेका छन् ? अहिलेसम्म न कुनै दलले आफ्ना मेयरहरूलाई एक पटक स्पष्टीकरण सोधेका छन् न त मेयरहरू नै बाटो बदलेर काममा फर्केका छन् । केन्द्रका नेताहरू भने एकफेर आफ्नो प्रशंसा कसैले गरिदियोस् भनेर रिपोर्टस क्लब धाउन छोडेका छैनन् !
उपत्यकाका एक मेयरलाई यस पङ्क्तिकारले केही दिन पहिले भक्तपुरको कुनै क्याफेमा भेटेको थियो । उनले आफू नियमित कार्यालय आउने कुरालाई सगौरव सुनाए । तर, उनले सँगै जोडिएको काठमाडौं महानगरमा भइरहेको परिवर्तनका संकेतलाई वास्तै गरेनन् । चिटिक्क परेर कार्यालय गएपछि मेयरको कर्तव्य पुरा हुन्छ भन्ने मात्र जानेका यी र यस्ता देशभरका कयौं मेयरहरूले शरीरभरी माटो लत्पतिएका हर्क साम्पाङको ‘पानी क्रान्ति’ अझै देखेका छैनन् । श्रमदानमा आफैं हेलिएर विकास सम्भव छ भनेर प्रमाणित गरेका हर्क साम्पाङको विपरीत दिशातर्फ देशभरका मेयरहरू लर्को लागेका छन् । के बालेन र हर्क हिँडेको बाटोविपरीत पाइला चाल्दा पुराना दलहरू जोगिन सक्छन् ? एक पटक हर्क र बालेनका काम नियालौं ।
स्वतन्त्र मेयर भर्सेस पुराना दलका मेयर
‘आगो बाल्न ठोस्नैपर्छ ।’ हामी बच्चै हुँदा बुढाबुढीले सिकाएको उद्धरणले कालजयी सन्देश बोकेको छ । धरानमा हर्कले ठोसेको विकासको झिल्को र काठमाडौंमा बालेनले झोसेको शहर रूपान्तरणको आगो जनजनमा फैलिरहेको छ । कहिल्यै नामै लिन नचाहने पुराना नेता पनि यी दुई मेयरको नाम उच्चारण गर्न थालेका छन् । कुनै नेताले त हामी हर्क, बालेन जसरी काम नगर्ने भए सकिने छौं पनि भन्न भ्याएका छन् । तर, उनीहरूको सिंगो पार्टी भने चुपचाप आफ्नो बचाउमा मात्र केन्द्रित छ !
यतिबेला नागरिक तहबाट सबैभन्दा आलोचना खेपेको महानगर हो, पोखरा । गठबन्धन दलहरूबाट विजयी मेयर धनराज आचार्यका आलोचना स्थानीय मिडियामा मात्र सीमित छैनन्, सामाजिक सञ्जालभरि फैलिरहेको छ । आचार्य विलासी शैली अपनाएर जिम्मेवारीबाट पर भागिरहेको जनताले चित्रण गरिरहेका छन् । शहरमा दुर्गन्ध फैलाएर आफ्नो शरीरभरी अत्तर छर्केर विदेश सयर गर्नेजस्ता आलोचनाका समाचारले जताततै ठाउँ पाइरहेका छन् ! स्थानीय चिप्लेढुंगामा थुप्रिएको फोहोरका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेर उनलाई गैरजिम्मेवार मेयरको उपमा दिइरहेका छन् । मेयर आचार्यलाई अहिले पटक पटक विदेश जानुको कारण र करोडौं रुपैयाँको खाजा खर्चको बारेमा स्पष्टीकरण दिँदैमा हैरान छ । फेवाताल अतिक्रमणका विषयमा मेयरको चुपचापलाई सन्देहपूर्वक हेरिएको छ ।
जनताको असली प्रतिनिधि बनेर काम गरेको भए आज पोखराका मेयरले आलोचना खेप्नु पर्थ्यो र ? जनतासँगै काम गरेको भए हर्क र बालेनका जसरी प्रशंसा स्वतः बर्सिन्थे । देशका बाँकी महानगरमध्ये विराटनगर, भरतपुर, वीरगञ्ज र ललितपुरका मेयरहरू गुमनामजस्तै छन् । भरतपुर महानगरकी मेयर प्रधानमन्त्रीपुत्री भएकै कारण केही न केही चर्चामा आएको मात्र हो । तर, रेणु दाहालको पहिलो पाँच वर्ष र अहिलेको एक वर्षे कार्यकाल औसतभन्दा माथि छैन ।
भरतपुर महानगरको स्वरूप, भित्री सडकहरू, नारायणगढ बजारको मुख्य सडक विस्तार, पुल्चोक–गोन्द्रयाङ सडक, बाइपास सडक, मेघौली सडक र विद्युत् विस्तार ०७४ सालअघिकै योजना हुन् । रेणुले शुरूआत गरेको नारायणी नदि किनारको सौन्दर्यता मात्र हो । योबाहेक रेणुले महानगरमा नयाँ काम केही गर्न सकेकी छैनन् । रेणु दाहाल र धनराज आचार्यजस्तै देशभरका मेयरहरू अकर्मण्यताको भारी बोकिरहेका छन् । धनगढी, धरान र काठमाडौंका मेयरको चर्चा जनस्तरमा गज्जबले फैलिरहेको छ । यी तीन पालिकाका मेयर स्वतन्त्र हुन् । यिनले स्वतन्त्र निर्णय गर्छन् । दलको सिन्डिकेटबाट जनप्रतिनिधि हुँदा कति पंगु सावित भइने रहेछ भन्ने पुराना दलहरू नै सन्देश प्रवाह गरिरहेका छन् । देशका अन्य पालिका प्रमुखहरूको भूमिकाप्रति जनता रुष्ट हुँदै जानु तर, धरान र काठमाडौंका मेयरको काममा आकर्षण फैलनुको कारण हेरौं ।
धरान र काठमाडौं मात्र चर्चामा किन ?
धरानका मेयर हर्क साम्पाङले करिब ४२ किमी टाढाबाट कुन दुःखले पानी ल्याउन सफल भए ? धेरैलाई जानकारी भइसकेको छ । यसमा उनको इच्छाशक्तिको तागत परीक्षण भएको छ । जुन परीक्षामा उनी प्रथम घोषित भएका छन् । तर, यस आलेखमा हर्कका हर्षका आँसु र बालेनको बलियो पाइला अन्य पालिकाहरूतिर किन फैलन सकिरहेको छैन भन्ने तर्फ संकेत गर्न खोजिएको छ ।
पहिलो, धरानकै कुरा गरौं । हर्क साम्पाङले धरानमा खानेपानीको आवाज उठाएको अहिले होइन । उनको विगतलाई अध्ययन गर्ने हो भने लामो समयदेखि उनले यो सपना देखेका थिए । उनी जुन उद्देश्यले जनप्रतिनिधि बन्न चाहन्थे, त्यही विगतलाई टेकेर उनले आफ्नो लक्ष्य पुरा गरेका थिए ।
पालिकासँग ठूलो बजेट हुँदैन । तर, श्रमदानलाई विकाससँग जोड्यो भने परिवर्तन सम्भव छ भन्ने उनले प्रमाणित गरिदिएका छन् । उनको लगावमा पुराना ठूला दलहरूका स्थानीय नेताहरूको खासै साथ छैन । हर्क साम्पाङ र पुराना दलहरूको दरार बढ्दै जाँदा सर्वसाधारण जनतामा उनीप्रति झन् आकर्षण बढ्दै गयो । जतिजति उनी दलहरूको विरोध झेल्दै गए, उतिउति उनलाई धरानभित्र र बाहिरबाट सहयोग समर्थनको बाटो खुल्दै गयो । पुराना दलहरूसँगको दिक्दारीलाई जनताले हर्क साम्पाङको काममा गएर बिसाए । जुन हर्कका लागि शक्ति बन्यो ।
यता काठमाडौंका मेयर बालेनको नियति पनि उही हो । टुकुचा सफा गर्नेदेखि पार्किङ व्यवस्थापनसम्म, शहरको सौन्दर्यीकरणदेखि डम्पिङ साइटको सुविधासम्मका कामहरूमा बालेनलाई कुनै दलले साथ दिएनन् । कति मिडियाले त खेदेकोखेद्यै छन् । पुराना दलहरूले बालेनको कामलाई चासो दिएका छैनन् । दलहरूको रवैयाप्रति बालेनले उही हर्क शैलीमै सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् । ‘सिंहदरबारका सबै नेतालाई डम्प गर्नुपर्छ’ भन्नेजस्ता अभिव्यक्ति सार्वजनिक गरेर बालेनले सर्वसाधारण नागरिकको भरोसा आफूतिर खिचिदिए ।
विश्वका अधिकांश देशका राजधानी निकै व्यवस्थित छन् । देश गरिब भए पनि राजधानीलाई भव्य बनाउनुपर्छ भन्ने सबै देशले धेरै पहिले सिकेका थिए । तर, नेपालमा भने अन्य शहर बरु केही गतिला होलान्, सबैभन्दा कुरूप राजधानी नै छ । यसको मुख्य जड यी दलहरू हुन् ।
०४६ सालअघि उपत्यका यति कुरूप थिएन । त्यतिबेला काठमाडौं सुन्दर भएका कारण यहाँ घुम्न आउने पर्यटकको ठूलो आकर्षण थियो । काठमाडौंको सौन्दर्यलाई लिएर कयौं फिल्म र गीतहरू निर्माण गरिए । वरिष्ठ कलाकार डेनी डेन्जोङ्पाले गाएको ‘कान्छीलाई घुमाउने काठमाडौं शहर’ अहिले पनि चर्चित छ । सम्पदाले मात्र होइन, सरसफाइमा पनि उपत्यका अब्बल थियो । जब, बहुदल आयो, अनि यसको विकासमा कुनै सरकारले ध्यान दिनै सकेन । पूर्वमेयर केशव स्थापितले माइतीघर र केही आकाशे पुल बनाउनेबाहेक कुनै जनप्रतिनिधिले उपत्यका विकासको लागि काम गरेनन् ।
अहिले बालेनले त्यही तीन दशकदेखिको माकुराको जालो सफा गरिरहेका छन् । फोहोरहरू थुपार्दैछन् । उनले लगाउँदै गरेको कुचोले बढार्ने भयले एकथरि मानिस यसरी तर्सिएका छन्, मानौं उनीहरूका लागि त्यही नरकजस्तो राजधानी नै सही छ ! उपत्यकाका भित्री सडक यस्तै त साँगुरा छन् । ठेला लिएर तरकारी फलफूल लिएर बसिदियो भने यी गल्लीमा मानिसहरूले कति सकस भोग्नुपर्छ भन्ने बालेनको विरोध गर्नेले देख्दैनन् । जथाभावी खुलेका वर्कशप, असरल्ल ट्राफिक अवस्था र कयौं ध्वनी प्रदूषण गर्ने स्रोतलाई नियन्त्रण गर्न खोज्दा एकथरिलाई ज्वरो आएको छ ।
बंगलादेश, भारत र पाकिस्तानबाहेकका देशहरूका शहर यस्तो भद्रगोल खासै देखिँदैन । यहाँका एकथरि मिडिया र पुराना दलका जडसूत्रवादीहरूलाई शहरको सौन्दर्यीकरण कति पनि मन परेको छैन । हो, निम्न आय भएका सबै व्यवसायलाई निश्चित स्थानमा व्यवस्थापन गरेर मात्र हटाउनुपर्छ । तर, यो विषयमा दर्जनौं प्रस्ताव लिएर बालेन मन्त्रालय, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म धाइसके । उनले भनेका छन्, ‘मेरो हटाउने काम हो, उनीहरूलाई ठाउँ खोजेर राख्ने जिम्मा सरकारको हो ।’
बालेनले जसरी आफ्नो कर्तव्य गरिरहेका छन्, त्यसरी नै राज्यका सबै अंगले काम गर्ने हो भने न यहाँ कुनै व्यवसायको ठेला फाल्न जरुरी छ, न यो शहर कुरूप हुन्छ । हामी मिडियाले दलहरूलाई यो विषयमा कहिल्यै झक्झक्याएनौं । उल्टो काठमाडौं महानगरसँग मानिसहरू तर्सिए भनेर नकारात्मक सन्देश प्रवाह गर्न उद्दत बन्यौं ।
आज, धरानका मेयर हर्कले खानेपानी ल्याउन पाइप ताने, शहरका बिरुवा मर्न नदिन पानी हाले, सडकका फोहोर आफैँ टिपे, काठमाडौंका मेयर बालेन आफैँ पार्किङ खाली गर्न कुदाकुद गरे, पानीमा भिज्दै डिभाइडर उठाए । यी कामले मानिसको कर्तव्यलाई संकेत गरिरहेको छ । इी दुवै मेयरका कामले छरेको सन्देशले मजदुरदेखि फाइलमा हस्ताक्षर गर्नेसम्मका व्यक्तिलाई प्रेरणा दिइरहेको छ । हर्क र बालेनले निभाएका भूमिकाले मानिसका लागि सबै काम समान हुन्, सोच र विचारले मात्र सानो ठूलो हुने हो भन्ने तरंग फैलाइदिएको छ ।
अन्त्यमा, सीपी मैनालीको एउटा पार्टी छ, नेकपा माले । कुनै बेलाका शक्तिशाली नेता अहिले २–४ जना कार्यकर्ताबीच पनि उनी आफ्नो पार्टीलाई सानो देख्दैनन् । उही पुरानै शक्तिको बलमा मैनाली शक्तिशाली नेता नै लाग्ने गर्छन् । अहिलेका ठूला भनिएका पुराना दल शतप्रतिशत परिवर्तन भएनन् भने ०८४ सालको चुनावमा धेरै नेकपा माले बन्नेवाला छन् ।
राजनीतिक परिवर्तनमा हाम्रो दलको भूमिका थियो, व्यवस्था परिवर्तन गर्न आन्दोलन गर्यौं, युद्ध गरियो भनेर अब जनताले भोट दिनेवाला छैनन् । कुनैबेला राणाशासन फाल्न मुख्य भूमिका खेलेको नेपाल प्रजापरिषद् अहिलेका दलहरूजस्तै शक्तिशाली पार्टी थियो । कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह संस्थापक सदस्य थिए । तर, समयले कुन पार्टीलाई कतिबेला सिद्ध्याउने रहेछ, कुनलाई उठाउने रहेछ, पत्तै हुँदैन । यदि प्रजापरिषदको इतिहास, नेकपा मालेको वर्तमान, हर्क साम्पाङ राई र बालेन साहको सक्रियता बुझ्न सकेनन् भने हालका पुराना दलहरूले भीरको बाटो रोजेको बुझ्नुपर्छ, जुन बाटोबाट गुल्टिनुबाहेक अर्को विकल्प छैन ।