११ साउन २०८३, सोमबार

दाङ र कालीकोटमा पनि देखियो दादुरा, काठमाडौंसहित १७ जिल्लामा प्रकोप

असार ३, २०८०
काठमाडौं
दाङ र कालीकोटमा पनि देखियो दादुरा, काठमाडौंसहित १७ जिल्लामा प्रकोप

दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए। 

उनले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो । 
    
यसअघि जेठ २४ गते काठमाडौंको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा. लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए। 

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा प्रकोप देखिएको छ । 

उनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म कुल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ । सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कुल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ । 

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा) मा दादुरा खोप अभियान सञ्चालन गरेको छ । 

ती जिल्लामा १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको महाशाखाका निर्देशक डा. लालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्