१० साउन २०८३, आइतबार

स्वदेशी लगानीकर्ताहरूबाट प्रवर्द्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजियो : घोराही सिमेन्ट

असार ७, २०८०
काठमाडौं
स्वदेशी लगानीकर्ताहरूबाट प्रवर्द्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजियो : घोराही सिमेन्ट

घोराही सिमेन्ट इन्डष्ट्रिले स्वदेशी लगानीकर्ताहरूबाट प्रवर्द्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । यो कार्यमा लगानी विरोधी समूह संलग्न रहेको भन्दै सिमेन्टले सो समूहबाट प्रायोजित कार्य तथा समाचारप्रति खेद व्यक्त गरेको छ ।

प्रिमियम मूल्यमा शेयर निष्कासनको विषयमा उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुर्‍याउने उद्देश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उद्योगले विज्ञप्तिमार्फत जनाएको छ ।

  बदनीयतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयहरूको बारेमा पूर्ण पारदर्शी रूपमा स्पष्ट पार्न उद्योग सदा तत्पर रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । 

‘शेयरको सार्वजनिक निष्कासन हुनुभन्दा पहिले कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको हुन्छ । निष्कासनको अनुमति प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेस भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरूको जिम्मेवारी लिन उद्योग सदैव तत्पर छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बोर्डद्वारा स्वीकृत  भए पश्चात् निष्कासन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रक्रिया सम्पन्न गरी शेयर बाँडफाँड भइसकेको अवस्था छ । सर्वसाधारणको लागि खुला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्कासन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजनिक निष्कासन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको छ ।’

उद्योगले क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने गरेको स्पष्ट गरेको छ ।  सो प्रक्रियामा विदेशका विषय विज्ञहरूको विश्लेषण र मूल्याङ्कनबाट हुने हुँदा यसमा उद्योग प्रवर्द्धकहरूको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको उद्योगले प्रस्ट पारेको छ । 

 उद्योगले धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ कम्पनीबाट ब्यहोरा जानकारी लिने तथा झुटा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा विश्वास विज्ञप्तिमार्फत लिएको छ ।  

विज्ञप्तिमा उद्योगमा लगानी गर्ने शेयर होल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ । 

 उद्योगले स्वदेशी लगानी तथा औद्योगिक क्षेत्रमा सर्वसाधारणको हिस्सेदारी अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउन नियामक निकाय, पत्रकार, लगानीकर्ता लगायत सम्पूर्णमा अपिल पनि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्