०२ असार २०८३, मंगलबार
'ट्रान्स पार्टी' र 'एलएसडी'को धन्दा

भ्रमित पार्ने लागूऔषध एलएसडीको अखडा बन्दै नेपाल, बच्चन र डेभिडसम्म पुग्दा खुल्यो पोल

असार ८, २०८०
काठमाडौं
भ्रमित पार्ने लागूऔषध एलएसडीको अखडा बन्दै नेपाल, बच्चन र डेभिडसम्म पुग्दा खुल्यो पोल

नेपाल नयाँ–नयाँ लागूऔषधको समेत अखडा बन्न थालेको पाइएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले विदेशमा मात्र प्रयोग हुँदै आएको ल्याइसरजिक एसिड डायथाइलामाइड (एलएसडी) नामको लागूऔषध बरामद गरी शुक्रवार सार्वजनिक गरेको हो ।

उक्त लागूऔषध सेवनले भ्रामक दृश्यहरू मानसपटलमा ल्याउने र त्यसैअनुसार व्यवहार परिवर्तन गराउने काम गर्छ । एलएसडी विशेषगरी नेपालमा प्रतिबन्धित ‘ट्रान्स पार्टी’हरूमा प्रयोग हुने गरेको पाइएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीले १० हजार १३१ पीस एलएसडीसहित ५ जना विदेशी र १२ जना नेपालीलाई पक्राउ गरेको छ । एलएसडी सेवन गरेर ट्रान्स पार्टीमा नग्न नाचगान र यौनजन्य क्रियाकलाप समेत हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार पछिल्लो समय इटालीयन नागरिक डेभिड मिनाडेओले भारतबाट एलएसडी नेपाल ल्याउने गरेको गरेको खुलेको छ ।

null

ब्यूरोका प्रवक्ता जोशीका अनुसार उनी नेपाल–भारत खुला सीमाको प्रयोग गर्दै धेरैपटक नेपाल आएको खुलेको छ । 

‘उनी धेरैपटक नेपाल आएको देखिन्छ । त्यो क्रम कोरोना भाइरसको समयमा लगाइएको लकडाउन खुलेयता झन् बढेको रहेछ,’ एसपी जोशीले भने ।

एलएसडी भारतमा सस्तोमा किनेर नेपालमा महंगोमा बिक्री गर्ने गरेको कुरा डेभिडले प्रारम्भिक बयानमा स्वीकारेको जोशीले बताए ।

प्रहरीले डेभिडलाई असार ६ गते काठमाडौंको ठमेलबाट १ लाख ३९ हजार भारु, ७ सय युरोलगायतका विदेशी मुद्रा, लागूऔषध एलएसडी १० हजार ९८ पीस, ६ ग्राम चरेससहित पक्राउ गरेको थियो । 

नेपालमा बच्चन भन्ने राज गौतमले मुख्य नाइके तथा डिलरको रूपमा काम गर्दै आएको पाइएको जोशीले बताए । राजले पार्टीहरूमा एलएसडी सप्लाइ गर्दै आएका थिए ।

एक पीस एलएसडीको २ हजारदेखि ५ हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । बरामद गरिएको १० हजार १३१ पीस एलएसडीको मूल्य २ करोड २ लाख ६२ हजार रुपैयाँ बराबर रहेको प्रहरीको दाबी छ ।

पोखरा र काठमाडौं ट्रान्स पार्टीको अखडा

नेपालमा ट्रान्स पार्टी गर्न प्रतिबन्ध छ, जसमा सहभागीहरू लागूऔषध सेवन गरेर संगितमा नाच्ने गर्छन् । लागूऔषध सेवनपछि त्यस्ता पार्टीहरूमा यौनजन्य क्रियाकलाप समेत हुने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय काठमाडौं र पोखरामा ट्रान्स पार्टी हुने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाभित्र ठमेल र नगरकोटका ठूला क्लब तथा पोखराको चापाकोटमा ट्रान्स पार्टी भएको सूचना प्रहरीले पाएको थियो ।

ती पार्टीमा मोरङको विराटनगर महानरपालिका– १२ का २६ वर्षीय बच्चन भन्ने राज गौतम र काठमाडौं महानरपालिका– १८ का ४२ वर्षीय मुखिया गुरुङले एलएसडी सप्लाइ गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले मुखियालाई असार ५ गते ३.७ ग्राम कोकिनसहित पक्राउ गरेको थियो । मुखिया २०७५ सालमा पनि लागूऔषधसहित पक्राउ परेर २७ महिना जेल बसेका थिए ।

उनीहरू दुवैजनालाई एलएसडी उपलब्ध गराउने काम भने डेभिडले नै गर्दै आएको खुलेको जोशीले बताए ।

‘यी दुवैलाई नेपालमा एलएसडी उपलब्ध गराउने मुख्य सप्लार्यस डेभिड भएको तथ्य खुलेको छ, जुन कुरा उनीहरूले स्वीकारेका पनि छन्,’ एसपी जोशीले भने ।

null

ट्रान्स पार्टीमा सदस्यलाई मात्रै ‘इन्ट्री’ !

प्रहरीका अनुसार ट्रान्स पार्टीमा उपस्थित हुनका लागि त्यसको सदस्य हुनुपर्छ । 

सदस्य बन्न पनि कुनै पुरानो सदस्यले सिफारिश गर्नुपर्छ । त्यसपछि ‘डार्क अनलाइन’मार्फत टिकट काटेर सहभागी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार एउटा पार्टीमा १५० देखि २०० जना मात्रै सदस्य हुन्छन्, त्योभन्दा बाहिरका व्यक्तिलाई उपस्थित गराइँदैन ।

उक्त पार्टी स्थलसम्म पुग्न पनि प्रहरीलाई निकै मुस्किल परेको थियो ।

‘पार्टी हुने ठाउँमा पुग्न कडा सेक्युरिटी पार गर्नुपर्छ । ५ वटा सुरक्षा घेर पार गर्दा पनि हामी मुख्य पार्टी हुने ठाउँमा पुग्न सकेका थिएनौं । अलिकति पनि शंका लाग्नेबित्तिकै सुरक्षा गार्डले उचालेर बाहिर फालिदिने रहेछन्,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने ।

कसरी पत्ता लाग्यो ट्रान्स पार्टी र एलएसडी ?

केही समयअघि प्रहरीले एक लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो ।

थप सूचनाका लागि प्रहरीले अब लागूऔषध प्रयोग नगर्ने र सच्चिने हो भने छाडिदिने बतायो । 

उनी सच्चिन तयार भएपछि हिरासतमुक्त गरियो । तर, प्रहरीले निगरानी भने जारी राखेको थियो ।

उनले साँच्चै लागूऔषध प्रयोग गर्न छाडे । साथै प्रहरीलाई गम्भीर सूचना समेत उपलब्ध गराए ।

तिनै सूचनाका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले ५ गते ठमेलबाट चन्द्रागिरि– ७ काठमाडौंका २९ वर्षीय सुगम मैनालीलाई पक्राउ गर्‍यो ।

उनले मुखिया गुरुङबाट एलएसडी खरिद गरेको बयान दिए ।

त्यसपछि प्रहरीले ६ गते ठमेलबाट गुरुङलाई पनि पक्राउ गर्‍यो । मुखियाले बच्चनको नाम लिए ।

बच्चनको खोजी गर्दै जाँदा उनी पोखरामा रहेको र ट्रान्स पार्टी पनि भइरहेको सूचना आयो ।

सोही दिन राति करीब १२ बजेतिर प्रहरीको एउटा टोली पोखरातर्फ लाग्यो ।

भोलिपल्टै पोखरा महानगरपालिका– ६ खहरेबाट बच्चन भन्ने राज गौतमलाई पक्राउ गरियो ।

उनीसँगै चेक रिपब्लिककी नागरिक मार्टिन सेर्ना पनि पक्राउ परिन् । प्रहरीका अनुसार उनी बच्चनकी प्रेमिका हुन् । 

त्यसपछि बल्ल प्रहरी डेभिडसम्म पुग्न सफल भएको थियो । अनि डेभिडलाई पनि पक्राउ गरियो ।

‘डेभिड नेपालमा लागूऔषधको अखडा नै बनाएर बसेको देखिएको छ,’ एसपी जोशीले भने, ‘यसमा उच्च तहका व्यक्तिहरूको समेत संलग्नता रहेको सूचना आएको छ, हामी त्यसलाई पुष्टि गर्न लागिपरेका छौं ।’

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार नेपालमा ठूला व्यापारी र नेताहरूको पनि यस कारोबारमा संलग्नता देखिएको छ, तर उनीहरूसँग लागूऔषध बरामद नहुने भएकाले पक्राउ गर्न सकिएको छैन ।

‘कुन व्यक्तिले लगानी गरिरहेको छ, त्यसमा को–को संलग्न छन् भन्ने थाहा छ, तर लागूऔषध नै बरामद नगरेसम्म पक्राउ गर्न मिल्दैन,’ ती अधिकारीले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्