
कोशी प्रदेशमा डेंगु परीक्षण किटको चरम अभाव देखिएको छ ।
बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको चरम अभाव भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालू आर्थिक वर्षमा पठाएको ३ हजार ६५० थान किट सकिएपछि समस्या भएको छ । बर्खायाम शुरू भएसँगै डेंगु रोगका बिरामीको संख्या बढेर गएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डेंगु परीक्षण गर्ने किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग माग गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले बताए ।
आइतवारसम्म ५०० थान किट आउने जानकारी आएको उनले सुनाए । ‘हामीसँग भएको किट जिल्ला अस्पतालहरूमा पठायौं । किट अभाव भएको १ हप्ता हुन लागिसक्यो । अहिले प्रदेशका धेरै अस्पतालहरूबाट किटको माग आइरहेको छ,’ उनले भने, ‘हामीसँग किट नभएका कारणले पठाउन सकिरहेका छैनौं ।’
धरानमा डेंगु बढेका कारणले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाटै बीपी कोइराला तथा विज्ञान प्रतिष्ठानले किट लिएर गएको छ ।’
चालू आर्थिक वर्षको असार १० गतेसम्म कोशी प्रदेशमा १५७ जनालाई डेंगु देखिएको छ । सुनसरीको धरानमा मात्र मंगलवार ४० जनामा डेंगु देखिएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निमित्त कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
बुधवारसम्म सुनसरीमा १०२ जनामा डेंगु देखिएको उनले बताए । सुनसरीपछि संखुवासभामा नयाँ १५ जनामा डेंगु देखिएको बस्नेतले जानकारी दिए । डेंगुको संक्रमण बढ्दै गएपछि किटको अभाव देखिएको उनले बताए ।