
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो ।
बुटवल नामको च्याटबटको आइतवार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे ।
च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताए ।
नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन–कुन काम कसरी हुन्छन् भन्नेजस्ता विषयमा जानकारी तथा गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने उनले बताए ।
कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै यूएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए ।
एआई च्याटबट बुटवल उपमहानगरको नेपाली र अङ्ग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने बुटवल उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए ।