
सुन तस्करीमा संलग्न १२ जनालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी बलान-विहुल गाउँपालिका–२ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र उनकी श्रीमती २५ वर्षीया सन्जुकुमारी साह छन् । साह दम्पत्तिले सिनामंगलमा होटलको नाममा कतारबाट आएको सुन रिसिभ गर्ने गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषा मिथिला बिहारी नगरपालिका–५ ललियाका २५ वर्षीय सुनिलकमार महरा, सिराह नगरपालिका–१७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तु सुद्धोधन गाउपालिका–६ का २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाधाम नगरपालिका– ९०० विघाका ३४ वर्षीय नेशर पंजियार, बाँके राप्ती सोनारी गाउँपालिका–४ का ३६ वर्षीय भुमबहादुर वली कतारबाट नेपालमा सुन ल्याउने मुख्य व्यक्ति भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यस्तै, बलानबिहुल गाउँपालिका–३ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरी बोदे बसाईन नगरापलिका–१ का २८ वर्षीय देवानन्द साह, लहान नगरपालिका–४ कुमाहाल टोलका शिवसुन्दर राउनत, सिराह धनगढी नगरपालिका–३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाही फरहदवाका ५६ वर्षीय निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ ।
कतारबाट ल्याएको सुन पैसाको व्यवस्थापन गर्ने काम शिवसुन्दर राउतले गर्ने गरेको एसएसपी मनोज केसीले बताए । ‘कतारबाट नेपालसम्म पाउँदा ४ वटा लेयर हुन्छ । त्यसमध्येको अन्तिम लेयरको मुख्य व्यक्ति शिवसुन्दर हो । ऊ नेपालमा अन्तिम व्यक्ति हो । उसले सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने गरेको देखिन्छ,’ एसएसपी केसीले भने ।
एसएसपी केसीका अनुसार शिवसुन्दरले कतारमा भएको नेपाली श्रमिकको मासिक तलब लिने, अनि त्यो पैसा नेपालमा आफन्तलाई दिने गरेका थिए । त्यो पैसा उनले सुन किन्न प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहनकुमारले उनको सहयोगीमा भूमिका खेल्ने गरेका थिए । उनीहरूको साथबाट केही सुन र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा सम्पर्कगरी प्रतिव्यक्ति ५० ग्रामका दरले सुन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले दैनिक १५–२० जनालाई ५०/५० ग्रामको दरले सुन पठाउने गरेका थिए ।
एसएसपी केसीका अनुसार कतारमा रहेका तस्करले एकै खालको सुनको सिक्री पठाउने गरेको देखिएको छ । नेपालमा रहेका एजेन्टहरूले इमो, ह्वाट्सएपलगायत सञ्चार माध्यमबाट सुन ल्याउने व्यक्तिको पहिचान गर्ने गरेका थिए ।
सुन ल्याउनेलाई १० हजार कमिसन, कतारका एजेण्टलाई १०० रियाल
कतारमा रहेका सुन पठाउने एजेण्टले नेपालमा सुन ल्याइदिए वापत् प्रतिव्यक्ति १० हजार नेपाली रुपैयाँ पाउने गरेका थिए । त्यति मात्र नभएर नेपालमा होटलमा बस्ने व्यवस्था र घरसम्म पुग्ने पैसाको व्यवस्थापन पनि दलालले गर्दै आएको प्रहरीले जनाएको छ । ‘सुन बोकेर आउनेले प्रतिव्यक्ति १० हजार पाउने रहेछन् भने त्यहाँका एजेण्टले पनि १ सय रियाल पाउने गरेको तथ्य खुलेको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने ।
चार वर्षमा साढे २ अर्बको कारोबार
यो गिरोहले चार वर्षमा २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी मनोज केसीका अनुसार शिवसुन्दर राउतले सन् २०१९ देखि अहिलेसम्म २ अर्ब ३७ करोड, ८२ लाख, ३६ हजार ५४९ बराबरको सुन तस्कर गरेको प्रमाणहरू भेटिएको बताए । ‘सन् २०१९ देखि करिब साढे २ अर्ब रुपैयाँको सुन तस्करी गरेको प्रमाणहरू हामीले फेला पारेका छौं,’ एसएसपी केसीले भने ।
शिवसुन्दरका नाममा रहेको रितेश जनरल स्टोरकाबाट १ अर्ब ८१ करोड, ५७ लाख १८ हजार ८७ हजार रुपैयाँ कारोबार भएको छ ।
यस्तै शिव सुन्दर राउत स्वयमको खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ, विनोदकुमार साह ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ, मोहन कुमार साहका नामबाट ४८ लाख ७० हजार ६८७ रुपैयाँ र सन्जुकुमारी साहका नामबाट २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँ करोबार भएको देखिएको प्रहरीले जनाएको छ ।