
राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो ।
कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३.६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २.७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।
कार्यालयले गत चैतमा सार्वजनिक गरेको नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ थियो । उक्त जनसङ्ख्यामा अहिले सात लाख ७१ हजार ९९८ जनसङ्ख्या गणना गर्न छुट भएको देखिएको खबर गोरखापत्रमा खबर छ ।