
चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म आगामी भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको हो ।
निर्माण टिम र वितरण कम्पनि डिसीएनबीच कागजी सम्झौतासंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसैगरी फिल्मको डिजिटल राइट्स पनि बिक्री गरिएको छ । डिएआर मुभिजले ‘जुलेबी’को डिजिटल राइट्स खरिद गरेको हो । डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्टबीच डिजिटल अधिकारको सम्झौता भएको छ ।
केही समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र फिल्महरू खरिद गर्ने बताएको छ ।
यो फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । साथमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ । एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाँजा बाजा फिल्मको निर्देशन गरेका थिए । ‘जुलेबी’मा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् ।
फिल्मको केही देशहरूको ओभरसिज राइट्स पनि बिक्री भइसकेको निर्माण टिमले बताएको छ ।