
काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि शुरू भएको छ ।
३ वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।
यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । १ महिनामा २ वटा औंसी परेको महिनालाई पुरूषोत्तम (मलमास, अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि शुरू भएको मत्स्यनारायण मेला १ महिनासम्म चल्ने जानकारी दिए ।
मलमासको अवधिभर मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ थियो ।
मलमास अवधिभर मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।