१७ असार २०८३, बुधबार

यसकारण चल्छन् प्रकाशका गीतहरू

साउन ७, २०८०
काठमाडौं
यसकारण चल्छन् प्रकाशका गीतहरू

गायक प्रकाश सपूतले शुक्रवार बेलुका आफ्नो नयाँ सिर्जना ‘दमाई महाराज’ युट्युबबाट सार्वजनिक गरे । युट्युबमा तीज गीतहरू सार्वजनिक भइरहेको समयमा उनले आफ्ना हिट सिर्जना ‘बोलमाया’ र ‘गलबन्दी’को दोस्रो भागका रुपमा यो गीत सार्वजनिक गरेका थिए । जुन गीतले यतिबेला युट्युबमा  लोभलाग्दो भ्युज पाइरहेको छ । सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको गीतले आइतवार दिउँसोसम्म २४ लाख प्लस भ्युज पाइसकेको छ । 

उसो त यस गीत सार्वजनिक हुनुअघि पनि युट्युबको पहिलो नम्बरमा उनकै गीतले कब्जा जमाएको थियो । उनको अभिनय रहेको तीज गीत ‘कमाउनेनी हो, रमाउनेनी हो’लाई पछि पार्दै उनको अफिसियल सिर्जना शीर्ष स्थानमा पुगेको हो । 

प्रकाशकै शब्द एवं संगीत रहेको ‘दमाई महाराज’मा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । 

प्रकाशकै लगानी, कथा एवं निर्देशनमा भिडियो तयार भएको छ । भिडियोमा उनीसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ । 

हुन त प्रकाशले आफ्नो युट्युबबाट सार्वजनिक गर्ने अफिसियल गीतहरूले लोभलाग्दो चर्चा, भ्युज दुवै पाउँदै आएका छन् । यसअघिका उनका सिर्जनाहरू पनि ट्रेन्डिङको शीर्ष स्थानमा पुग्ने गरेका थिए । तीन महिना अगाडिमात्रै ‘सकम्बरी’बोलको गीतले पनि निकै चर्चा कमाएको थियो । 

चर्चाको श्रृङखलाको निरन्तरता यसपटक उनले ‘दमाई महाराज’बाट पनि पाएका छन् । प्रकाशका हरेक सिर्जनाहरू चल्नुका पछाडि केही कारणहरू छन् । 

उनका हरेक गीत गीतमात्र नभएर कथानक भिडियो हुन् । उनले आफ्ना हरेक सिर्जनालाई कथानक शैलीमा पेस गर्दै आएका छन् । प्रकाशको अर्को मुख्य विशेषता चाहिँ उनले आफ्ना सिर्जनामा फरक–फरक सामाजिक मुद्धा उठान गर्दै आएका छन् । यसपटक ‘दमाई महाराज’मा पनि त्यसलाई निरन्तरता दिँदै जातीय छुवाछूत र विभेदविरुद्धको मुद्धा उठाएका छन् । धार्मिक सप्ताहको परिवेशमा बुनिएको कथालाई भजन शैलीमा मीठो भाका हालेर पेस गरेका छन्, जसले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । 

प्रकाशका गीत चल्नुको कारण कथानक मात्र नभएर भिडियो मेकिङमा गर्ने मेहनतलाई पनि लिन सकिन्छ । उनले भिडियोका लागि कुनै ‘कम्परमाइज’ गर्ने गरेका छैनन् । यसपटक पनि भिडियोको मेकिङमा राम्रो मेहनत परेको र खर्च पनि राम्रो भएको सजिलै अनुमान गर्न सकिन्छ । 

प्रकाशका पछिल्ला गीत चल्नुको मुख्य कारण भने उनले अघिल्ला गीतबाट बसालेको जगलाई मान्न सकिन्छ । अघिल्ला सिर्जनाबाट स्रोता÷दर्शकको विश्वास जितेका कारण पनि उनका अफिसियल गीतहरूलाई स्रोता–दर्शकहरूले प्रतिक्षा गर्ने गरेका छन् । 

‘दमाई महाराज’को सन्दर्भमा यो गीत चल्नुको केही कारणमध्ये एउटा कारण ‘भाग २’ का रुपमा आउनु पनि रहेको संगीतकर्मीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्