
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज (बुधवार) पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा दुवै पक्षको सुनुवाइ सकिए पनि आज आदेश भने आएन ।
उक्त रिटको फैसला भने बिहीवार आउने सम्भावना छ ।
यसअघि मंगलवार पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । थापाको नेतृत्वमा गठित सरकार बदर गरी आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन एमालेले परमादेश माग गरेको छ ।
रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।
त्यसपछि गत सोमवार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।