
काठमाडौं, २९ भदौ – चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को इलिमिनेसन राउण्डबाट सागर आले बाहिरिए । भोटका आधारमा ‘आउट’ हुने भएपछि सागर आले टप तीनमा अट्न सकेनन् । कम भोट ल्याएर आइडलबाट बाहिरिएपछि उनका प्रशंसकहरु निराश छन् ।
उनका फ्यानले सामाजिक सञ्जालमार्फत सागरले हारेकोमा दुखी हुँदै विभिन्न स्टाटस लेखे । कति फ्यानले त रुँदै सागर आलेका नाममा भिडियो बनाएर अपलोड समेत गरे । सागरले यो सबैलाई आफूले पाएको मायाका रुपमा हेरेका छन् ।
हँसिलो स्वभावका आले आइडलबाट बाहिरिँदा पनि उस्तै खुशी देखिन्थे । उनलाई बिदाइ गर्दै निर्णायकले भन्दै थिए, ‘अरु बाहिरिँदा ह्वाँ ह्वाँ रुने सागर आफू हाँसेर जाँदैछ ।’
सागर भन्छन्, ‘मेरो बानी नै यस्तै छ ।’
नेपाल आइडलमा हुँदा आफूले गाएको सालैजो गीतलाई धेरैले रुचाएको बताउँछन् सागर । लोक, आधुनिक तथा पप सबै गीत गाउने खुबीकै कारण उनले ‘भर्सटाइल’ गायकको तारिफ पनि पाउँछन् । नेपाल आइडलको टप चारसम्म आइपुग्दा लाखौं प्रशंसक कमाइसकेका छन् उनले ।
आइडलबाट बाहिरिएपछि यतिबेला उनलाई तिनै प्रशंसकको फोन तथा म्यासेज आउने गर्छ । कतिले त रुँदै म्यासेज फोन गरेर झन् आफूलाई पनि रुवाइदिने गरेको बताउँछन् सागर । ‘लक्ष्यमा पुग्न नसक्दा अलिअलि दुःख त सबैलाई लाग्छ तर जति मैले चर्चा पाउनुपर्ने हो, त्यो पाइसकें ।’ सागर भन्छन्, ‘गाली गर्ने दर्शकलाई पनि धन्यवाद, म उहाँहरुको पनि मन जित्ने कोसिस गर्नेछु ।’
नेपाल आइडलले दिलाएको सफलताबाट भने उनी मख्ख छन् । हिजोसम्म कसैले नचिन्ने सागरलाई आज देश तथा विदेशका दर्शकले चिन्नुलाई उनले सफलताका रुपमा लिएका छन् । आइडलबाट आफू बाहिरिँदाभन्दा अर्का प्रतिस्पर्धी प्रताप दास सुरक्षित भएकोमा खुशी लागेको उनी बताउँछन् सागर ।

किन त? ‘गाउन त सबैले उत्तिकै राम्रो गाउँछन् तर प्रताप (दास) र सुरज (थापा) दाइसँग एउटै कोठामा बसियो, स–साना कुरा पनि साटासाट गरियो, त्यही भएर होला ।’ उनी भन्छन्, ‘म जहिले पनि आफू आउट भएपनि प्रताप ‘सेभ’ होस् भनेर प्राथना गर्थें ।’
बीस वर्षको उमेरमा पाएको यो सफलताले भने उनलाई झनै खुशी दिलाएको छ । अहिले उनलाई आफ्ना प्रशंसकको प्रतिक्रियाको ओइरो छ । विभिन्न कन्सर्टका लागि पनि उत्तिकै आग्रह आइरहेका छन् । भ्याएसम्म सबै कार्यक्रममा आफू जान चाहेको बताउँछन् सागर । भन्छन्, ‘हाम्रा लागि यही काम हो, मेरो गलालाई मन पराएर बोलाइदिनुभएको हो उहाँहरुले ।’
नेपाल आइडलमा सबै प्रतिस्पर्धीका फ्यान आ–आफ्नै छन् । फ्यानबीच पनि बेलाबेलामा बाझाबाझ हुने गरेको उनलाई थाहा छ । यही कुरालाई सम्बोधन गर्दै सागर आफ्ना प्रशंसकलाई अनुरोध गर्छन्, ‘कृपया मलाई राम्रो भन्न अरुलाई नराम्रो नभन्दिनुहोला ।’
‘एक बोरा आलुमा एक केही कुहिएको आलु पनि भएजस्तै कमजोरी सबैमा हुन्छ ।’ आफूलाई गाली गर्ने प्रशंसकलाई उनी आग्रह गर्छन्, ‘गाली गर्ने दर्शकले पनि माया नै गर्नुभएको हो, दुःखी छैन ।’
धेरैले ‘भर्सटाइल’ भन्ने सागर भविष्यमा सबै खालका गीत गाउने योजनामा छन् । ‘सालैजो पनि रुचाउनुभएको छ, सबै विधाका गीत गाउने सोचमा छु, प्रशंसकहरु बलेको आगो ताप्ने मात्र पक्कै हुनुहुन्न ।’ उनी थप्छन्, ‘सधै साथ पाइरहने आशा छ ।’