०१ असार २०८३, सोमबार
भेटका लागि कारागारमा भीआईपीको लर्को

खाँणलाई भेट्न दिन बिराएर पुग्छिन् मञ्जु, आफन्त आउँदा धुरुधुरु रुन्छन् सचिव पाण्डे

'गृहमन्त्रीभन्दा कम छैनौं' भनेर हैकम चलाउन थालेपछि नक्खु सारिए केशव र सानु
साउन १२, २०८०
काठमाडौं
खाँणलाई भेट्न दिन बिराएर पुग्छिन् मञ्जु, आफन्त आउँदा धुरुधुरु रुन्छन् सचिव पाण्डे

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित उच्चपदस्थ नेता र कर्मचारी पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् ।

कारागारमा रहेको नेता र कर्मचारीलाई भेट्न दैनिक नेता/कार्यकर्ता, आफन्त र शुभचिन्तकको भीड लाग्ने गरेको छ । त्यसमध्ये पनि भीआईपीहरूलाई भेट्नेको लर्को धेरै हुने गरेको छ । सबैभन्दा धेरै मानिसहरू खाँणलाई भेट्न आउने गरेको कारागार व्यवस्थापनले जनाएको छ । उनी कांग्रेसका प्रभावशाली नेता समेत भएकोले उनलाई भेट्न दैनिक लाइन लागेर नेता/कार्यकर्ता, आफन्त र शुभचिन्तक आउने गरेका छन् ।

कारागार स्रोतका अनुसार उनलाई भेट्न केही समयअगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समेत पुगेका थिए । 

फरक–फरक दिनमा भेट्न आएका उनीहरूले खाँणसँग करीब आधा घण्टा भेट गरेका थिए । त्यति मात्र होइन, उनलाई भेट्न लुम्बिनी प्रदेशका अधिकांश मन्त्री र सांसदहरू समेत आउने गरेका छन् ।

खाँण पूर्वगृहमन्त्री भएकाले कारागारमा भेट्न छुट्टै स्थानको प्रबन्ध गरिएको छ । खाँणलाई भेट्न पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि पुगेका थिए । उनले केही समय भेटेर कुराकानी गरेको कारागार स्रोतले जनाएको छ । 

सुरक्षा गार्डलाई मञ्जुको हप्की, दिन बिराएर पुग्छिन् कारागार

खाँणलाई भेट्न उनकी श्रीमती तथा नेपाली कांग्रेसकी नेत्री एवं सांसद मञ्जु खाँण हप्तामा ३ दिनसम्म जाने गरेकी छन् । ‘उहाँ आइरहनुहुन्छ । परिवारकै सदस्य भएकाले उहाँ आउने कुरा ठूलो पनि भएन,’ कारागार स्रोतले भन्यो । 

कारागारमा भएका कैदीबन्दीलाई भेट्न आउँदा सुरक्षा निकायले भेट्न आउने व्यक्तिको नाम, ठेगाना र फोन नम्बरलगायत विवरण लिखितरूपमा राख्ने गरेको छ ।

प्रहरीको २ वटा निकाय केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रत्यक्ष निगरानी गरिराखेका हुन्छन् । 

भेट्न आउने क्रममा विवरण राख्न खोज्दा मञ्जु सुरक्षाकर्मीसँग झोक्किने गरेको कारागार स्रोत बताउँछ ।

‘उहाँलाई विवरण टिपाउनुस् भन्दा म फलानो हुँ, टिप्नुपर्छ र ? भन्दै हप्काउनुहुन्छ । सधैं टिपाउनुपर्छ र भनेर कराउनुहुन्छ,’ सुरक्षामा खटिएका एक प्रहरी कर्मचारीले लोकान्तरसँग भने, ‘कारागारको नियम हो, नभए जान पाइँदैन भनेपछि विवरण टिपाएर जानुहुन्छ ।’

पछिल्लो समय भने उनी चुपचाप आफ्नो विवरण टिपाएर भित्र छिर्ने गरेको उनले बताए ।​

श्रीमती र छोरी भेट्न आउँदा रुन्छन् सचिव पाण्डे

केन्द्रीय कारागारमा भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहसचिव तथा निलम्बित सचिव टेकनारायण पाण्डे पनि छन् ।

उनलाई भेट्न भने त्यति धेरै व्यक्ति आउँदैनन् । केही आउनेहरू पनि ‘आएका थिए’ भन्ने सन्देश पुर्‍याइदिन भन्दै फर्किने गरेको कारागार स्रोतले लोकान्तरलाई बतायो । 

‘निजामती कर्मचारीहरू भेट्न आउनुहुन्छ, तर विवरण उल्लेख गर्नुपर्ने भएकाले भित्र भेट्न जानुहुन्न । आउनु भएको छ है भन्ने कुरा सुनाइदिनु होला भन्दै फर्किनुहुन्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, 'एक बहालवाला सचिव नै पाण्डेलाई भेट्न आउनुभएको थियो । उहाँले पनि विवरण टिपाउनुपर्ने र को आयो भन्ने रेकर्ड राख्नुपर्ने भनेपछि सन्देश मात्रै छाडेर जानुभयो ।’

पाण्डेलाई भेट्न समय–समयमा उनकी श्रीमती र छोरी आउने गरेका छन् । उनीहरू आउँदा सचिव पाण्डे रुने गरेको स्रोत बताउँछ ।

‘उहाँकी श्रीमती आउँदा धुरुधुरु नै रुनुभएको थियो,’ स्रोतले लोकान्तरसँग भन्यो । स्रोतका अनुसार पाण्डे कारागारमा बस्दा अलि बढी चिन्तित देखिने गरेका छन् । 

केन्द्रीय कारागारमा हैकम चलाउन खोजीपछि नख्खु स्थानान्तरण भए केशव र सानु

केन्द्रीय कारागारमा हैकम चलाउन खोजेपछि सानु भण्डारी र केशव दुलाललाई नख्खु कारागार स्थानान्तरण गरिएको छ ।

उनीहरूले आफूहरू पनि भीआईपी नै भएकाले सचिव पाण्डे र बालकृष्ण खाँणसरह नै भेट्ने कक्ष छुट्टै चाहियो भन्दै कारागार व्यवस्थापनसँग माग राखेका थिए ।

सानु भण्डारी त आफूहरूले आम कैदीबन्दीले भेट्ने ठाउँमा आफन्त नभेट्ने भन्दै आएकालाई फर्काएको कारागार स्रोतले बतायो ।

‘हामी पनि गृहमन्त्रीभन्दा कम होइनौं, भेट्ने कक्ष छुट्टै व्यवस्था गरिदिनुपर्‍यो । अरू कैदीबन्दीले भेट्ने ठाउँमा भेट्दैनौं भनेर बबालै मच्चाए,’ केन्द्रीय कारागार स्रोतले लोकान्तरसँग भन्यो, 'यहाँ विवाद हुने देखेपछि उनीहरूलाई नख्खु कारागार सारिएको छ ।' 

त्यति मात्र होइन, नख्खु कारागारमा पनि उनीहरूले आफूहरूलाई छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कारागारले उपलब्ध नगराउने बताएपछि उनीहरू थन्किएको नख्खु कारागारका एक कर्मचारीले लोकान्तरलाई बताए ।

बालकृष्णसँगै केन्द्रीय कारागारमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि छन् ।

जिल्ला अदालत काठमाडौंले रायमाझी, खाँण र पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

अदालतले सबैलाई केन्द्रीय कारागार पठाएको थियो । त्यसमध्येका सानु भण्डारी र केशव दुलाल नख्खु कारागार र बाँकी केन्द्रीय कारागारमै छन् ।

salt training

कमेन्ट गर्नुहोस्