१९ असार २०८३, शुक्रबार
माओवादी केन्द्रीय कमिटी बैठक

प्रचण्डप्रति वर्षमान नरम, जनार्दन गरम

साउन २०, २०८०
काठमाडौं
प्रचण्डप्रति वर्षमान नरम, जनार्दन गरम

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको चौथो दिनमा आइपुग्दा प्रभावशालि नेताद्वय वर्षमान पुन र जनार्दन शर्माले आ–आफ्नो धारणा राखेका छन् । शनिवार दिउँसोको खाजा समयअघि वर्षमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नरमरुपमा प्रस्तुत भए । तर अर्का उपमहासचिव शर्मा प्रचण्डप्रति लचक बन्न सकेनन् । पुनले सिधैं प्रचण्डको प्रतिरक्षा गर्दैगर्दा शर्माले आलोचना गरे । तर समर्थन पनि गरे ।

वर्षमानले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान छेडेको भन्दै सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि बेथितिविरुद्ध आफूहरू बलिदानी दिन तयार रहेको बताए । ‘पार्टी अध्यक्षकै नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान थाल्दा जनतामा उत्साह पैदा भएको छ । अध्यक्ष कमरेडले अगाडि बढाउनुभएको अभियानमा मेरो दह्रो साथ छ’ पुनले भने,  ‘यो अभियान कुनै पनि हालतमा रोकिँदैन र रोकिनु पनि हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’

पुनले सय केजी सुन तस्करी प्रकरणको नाम नलिई आफूमाथि उठेका प्रश्नमा पनि छानबिनको लागि तयार रहेको प्रस्ट्याए ।  ‘मैंमाथि प्रश्न उठेका छन् भने पनि म छानबिनका लागि तयार छु ।’ पुनले भने । 

चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरका कारण सुनकाण्डमा पुनमाथि पनि प्रश्न उठेपछि उनले आफूले छानबिनलाई सघाउने प्रस्ट्याएका हुन् । 

गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्वीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका छन् ।

बैठकामा उनले यतिखेर अध्यक्ष प्रचण्डको विकल्प नभएको पनि प्रस्ट्याए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, पुनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’

पार्टीमा विचारमा समस्या नभए पनि विधिमा देखिएको समस्यालाई पार लगाउनुपर्ने बताए । यसका लागि पार्टीमा पाका, प्रौढ र युवाको नीति लागु गर्नुपर्ने बताए । केन्द्रीय कमिटीले तय गर्ने विधान सम्मेलनले पार्टीमा समस्या समाधान गर्ने उनको भनाइ थियो । राजनीतिक संघर्षको रूप फेरिएको भन्दै उनलेसरकार प्रमख मोर्चा भएको प्रस्ट्याए ।

पुनले अध्यक्ष प्रचण्डको प्रशंसै–प्रशंसा गर्दा अर्का उपमहासचिव शर्मा भने आलोचनात्मक समर्थनमा उत्रिए । वर्षमान र आफू दुईमध्ये एकजनालाई महासचिव बनाउन आग्रह गरे पनि अध्यक्षले अर्कै प्रस्ताव ल्याएको भन्दै उनले आलोचना गरे । 

‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौं । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै अस्तित्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार ल्याइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ’ शर्माले भने, ‘अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गर्ने गरिएको छ । हामी तपाईँकै हौं, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’

प्रचण्डले वर्षमान र जनार्दनको मुख्य दाबीका बीच देव गुरुङलाई महासचिव बनाएका थिए । यसैले शर्माले अध्यक्षले गुटबन्दी छ भन्दै खेल्न खोज्नु उचित नभएको बताएका हुन् । 

पछिल्लो समय समाजवादी मोर्चामा विप्लवलाई पनि प्रचण्डले समेटेका छन् । विप्लवलाई ल्याएर महत्वपूर्ण जिम्मेवारी दिने डरले शर्मा र पुनले पछिल्लो समय आफूहरूबीच कुनै समस्या नरहेको सन्देश दिन खोजिरहेका छन् । 

आफूले हर तरहले अध्यक्षलाई सहयोग गर्दा आफ्नो मत नै थाती राखेकोसमेत शर्माले बताए । 

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु’ शर्माले भने, ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैंले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाती राखेर भए पनि त्यसको पालना गरेकै छु । परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु ।’ 

तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्दा असहयोग गरेको भन्दै आरोप लगाउनु उचित नभएको बताए । 

‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईँले मेरो साथ र समर्थन पाउनु भएन ?’ शर्माले भने, ‘तल कुन चाहीँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नुपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’ 

भ्रष्टाचारविरोधी अभियानमा सरकारले चालेको कदमप्रति भने शर्माले पनि प्रशंसा गरे । ‘यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु । यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी हो । सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रुपले पनि राखिएको छ’ मैले संसदको रोष्टमबाट २०४७ साल यताका सबै नेताहरूको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्युरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनविना बालुवाटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ ।’
शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न पनि माग गरे । नेतृत्वको सीधा र घुमाउरो समर्थनबाहेक दुवै नेताले पार्टी संगठन र विधिबारे भने समान धारणा प्रस्तुत गरेका छन् । दुवैले अध्यक्षको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा दिने बताएका छन् । प्रभावकारी रुपमा योग्य र सक्षमलाई जिम्मेवारी दिनुपर्ने र युवालाई अवसर दिनुपर्नेमा भने दुवै नेताका समान राय छन् । 

अध्यक्षले बैठकमा मौखिम रुपमा प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रस्ताव लेखनको जिम्मा शर्मा र पुनले नै पाएका थिए । तर बैठकको चौथो दिनसम्म पनि केन्द्रीय सदस्यहरूलाई प्रस्तावको प्रति उपलब्ध गराइएको छैन । अध्यक्ष प्रचण्डले राखेको मौखिक भनाइलाई आधार मान्दै सदस्यहरूले धारणा राखिरहेका छन् । धारणा राख्ने क्रम नसकिएकाले आइतवार पनि माओवादीको बैठक जारी रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्