
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाले आइतवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमवार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण चितवनमा पनि बढ्दै गएको छ ।
आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगरले आइतवार एक सूचना जारी गर्दै सोमवारदेखि साउन २४ गतेसम्म पालिकाभित्रका १२ कक्षासम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्न समेत अनुरोध गरेको छ ।
‘आँखाको समस्या बढ्दै गएको हुँदा साउन २२ देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण समेत गर्न गराउनुहुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ,’ नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरिसकेको छ । खैरहनीमा आइतवार र सोमवार बिदा दिइएको छ ।