
विद्यालयका ५ छात्रामाथि बाल यौन दुव्र्यवहार गरेको आरोप लागेका मोरङको जहदा गाउँपालिकाको जनप्रिय आधारभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका छन् ।
मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालाशले उनलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
मोरङ अदालतमा दायर भएको बाल यौन दुर्व्यवहार मुद्दामा शिक्षक साहविरुद्ध ५ जना छात्राको जाहेरीमा छुट्टाछुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजालशले ५ वटा मुद्दामा जनही २० हजार रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
अदालतले तोकेको धरौटी रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।
साहले पछिल्लोपटक जेठ ३२ गते छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए ।
५ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले ४ देखि ८ कक्षासम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गत वर्ष पनि विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यतिबेला स्कूलमा घटना मिलाइएको थियो ।