
मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आज बिहीवारदेखि शुरू भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ ।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म १ महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरू भएको हो ।
नेपाल संवत्अनुसार दशौं महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।
‘यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैं पालना गर्नुपर्छ भन्ने नियम छ,’ उनले भने । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागूपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।
पञ्चशीलमा ३ शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा २ कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए ।
यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृंगभेदी अर्थात् भैंसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
काठमाडौं महानगरपालिका–७ चाबहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाए । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ ।
झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।
चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा १ दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।