१२ साउन २०८३, मंगलबार

आगामी फिल्ममा एक्सन अवतारमा देखिँदै पूजा शर्मा

साउन ३२, २०८०
काठमाडौं
आगामी फिल्ममा एक्सन अवतारमा देखिँदै पूजा शर्मा

अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माण पक्षले क्लाइमेक्सका दृश्यहरू खिचिरहेको छ । जहाँ, अभिनेत्री पूजाको एक्सनको दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । 

फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायांकनमा तयार भइरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । 

अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् । 

फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौँ’ उनले भने, ‘दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’ 

फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी अभिनेत्री पूजा शर्माले आफूले सक्दो मेहनत गरिरहेको बताउँछिन् । ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु’ उनले भनिन् ‘आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ 

पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् । यसअघि प्रायः रोमान्टिक भूमिकामा देखिँदै आएकी पूजालाई दर्शकले अब एक्सन अवतारमा पनि देख्न पाउने भएका हुन् । 

फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतीक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्