
दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ ।
निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए। गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए ।
कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित थिए ।