२४ जेठ २०८३, आइतबार
वायुसेवा निगममा बेथितिको चाङ

कमाउने जहाज २ महिनादेखि 'ग्राउन्डेड', कार्यकर्ता पोस्न असम्बन्धित काममा भर्ती

भदौ १०, २०८०
काठमाडौं
कमाउने जहाज २ महिनादेखि 'ग्राउन्डेड', कार्यकर्ता पोस्न असम्बन्धित काममा भर्ती

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा चरम विकृति मौलाएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानको एउटा जहाज दुई महिनाभन्दा बढी समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको (ग्राउन्डेड) छ ।

इन्जिन बिग्रिएको जहाज मर्मत गरेर उडाउनुको साटो निगम भाडामा इन्जिन ल्याएर कमिसन असुल्नतर्फ केन्द्रित देखिन्छ ।

निगमको एन एकेएक्स लुम्बिनी नामको १५८ सिट क्षमताको न्यारोबडी जहाज दुई महिनाभन्दा बढी समय (६८ दिन)देखि इन्जिन बिग्रिएर थन्किएको हो ।

यसबाट निगमलाई प्रतिघण्टा ८ हजार डलरका दरले घाटा भइरहेको छ । जहाज नियमित उड्दा यसले प्रतिघण्टा ८ हजार डलर कमाउँथ्यो । 

निगमले आकस्मिक अवस्थामा तत्कालै खरिद गर्न सक्ने सुविधा प्रयोग नगर्दा जहाज थन्किएको ३२ दिनपछि मात्रै इन्जिन भाडामा लिन टेन्डर आह्वान गरेको थियो । त्यो पनि अहिलेसम्म आइपुगेको छैन । 

निगमको तालुक निकाय पर्यटन मन्त्रालय र निगमकै नेतृत्व भने रमिते भएर बसेको छ । एकातर्फ जहाज थन्किएर बसेका बेला निगम नेतृत्व भने करारमा कर्मचारी भर्ती गरेर बसिरहेको छ ।

विगतका मन्त्री र कार्यकारी प्रमुखले अधिकारको दुरुपयोग गर्दै कर्मचारी भर्ती गर्ने गलत अभ्यासलाई निगम सुधारको अभियान बोकेर हिँडेका मन्त्रीले समेत निरन्तरता दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग मिलेर निगमलाई आफन्त र कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् ।

अधिकारीले हालका पर्यटन मन्त्री किराँती बहाल नहुँदै ८६ जनालाई नियुक्त गरिसकेका थिए ।  पूर्वमन्त्रीको दबाबका भरमा उनले मन्त्रीका आफन्त, आसेपासे र कार्यकर्तालाई भर्ती गराएका थिए ।

सोही काम बहालवाला मन्त्री किराँतीलाई रिझाउन पनि भइरहेको छ । मन्त्री किराँती आएपछि उनका ५१ जना आफन्त र कार्यकर्ताले निगममा नियुक्ति पाइसकेका छन् । 

निगम स्रोतका अनुसार मन्त्रालयबाटै र सिधै कार्यकारीले गर्ने नियुक्ति अझै धेरै छ ।

अधिकारीले अहिलेसम्म करीब २ सय जनालाई नियुक्त गरिसकेको स्रोत बताउँछ । हरेक महिना तलब भुक्तानीका लागि मात्रै ती कर्मचारी निगमको लेखा शाखामा पुग्ने गरेको निगमकै कर्मचारी बताउँछन् । 

लोकान्तरलाई प्राप्त तथ्यांकअनुसार अधिकारीले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि विभिन्न मन्त्रीले दिएको निर्देशनका आधारमा मात्रै १३८ जनालाई निगममा भर्ती गराएको पाइएको छ । 

हेर्नुहोस्, भर्ती गरिएकाहरूको सूची:

null

null

मन्त्री किराँती आफैं वायुसेवा निगम सुधार अभियानमा लागेको भनेर सार्वजनिक स्तरमा बोल्दै आएका छन् ।

वायुसेवा निगमको अवस्था देखेर असह्य भएर रुनु परेको बताउँदै हिँड्ने मन्त्री किराँती आफैं कार्यकर्ता भर्तीकेन्द्र बनाउनमा लिप्त छन् ।

मन्त्री किरातीले ३ माघ २०७९ मा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएको ४ दिनमै ८औं तहका मेन्टिनेन्स इन्जिनियरलाई नियुक्त गरेका थिए ।

९औं तहका सेफ्टी अडिटर र पाइलटसम्म नियुक्त गर्न भ्याएका मन्त्रीले अहिलेसम्म १ देखि ३ तहमा अधिकांश व्यक्ति नियुक्त गरेका छन् ।

निगममा प्रतिस्पर्धाबाट नियुक्त हुनुपर्ने तथा पारदर्शी ढंगबाट काम गर्ने विधि र पद्धतिलाई पन्छाएर उनले गलत अभ्यास अवलम्बन गरेको वायुसेवा निगमकै कर्मचारी बताउँछन् ।

निगमका कर्मचारीले एकातर्फ जहाज २ महिनादेखि थन्काएर राख्ने र अर्कातर्फ मन्त्रीको निर्देशनमा खुरुखुरु असम्बन्धित श्रमिकलाई नियुक्ति दिँदै जाने गरेको विषयमा निगमका कर्मचारीले कार्यकारी प्रमुखको जवाफ मागेका थिए ।

निगमका ४ वटै कर्मचारी युनियनले कार्यकारी प्रमुखको कार्यकक्षमै पुगेर निगमभित्र भइरहेको बेथितिको विषयमा जवाफ माग्दा उनी उठेर हिँडेका थिए ।

त्यसपछि उनी कार्यालय फर्किएका छैनन् । निगम स्रोतका अनुसार अधिकारी बैंकक गएका छन् । उनी आज (आइतबार)मात्रै कार्यालय फर्किँदै छन् । 

बेथितिले निगमलाई नै छोप्न थालेपछि कर्मचारीले ध्यानाकर्षण गराउन खोज्दा नेतृत्वले बेवास्ता गरेको नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले बताए ।

‘अहिले थन्किएको जहाजको इन्जिन भाडामा ल्याउने नाममा नेतृत्वले २ वटा नयाँ इन्जिन नै खरिद गर्न पुग्ने पैसा खर्च गरिसक्यो,’ कुँवरले भने, ‘पटक-पटक समयमा नै मेन्टिनेन्स एन्ड रिपेयर/ओभर अल (एमआरओ) नबनाउँदा एकपछि अर्को जहाज थन्किने अवस्था छ ।’

यसअघि कतारमा इन्जिन बिग्रिएको जहाजका लागि पनि २ वटा इन्जिन खरिद गर्ने पैसा सिध्याएको भन्दै अहिले अर्को जहाजमा अनावश्यक खर्च गरेर ठूलो क्षति गराउन लागेको कर्मचारीहरूले गुनासो गरे ।

निगम नेतृत्व अक्षम भएकाले तत्काल राजीनामा दिएर सक्षम व्यक्तिलाई बाटो खोल्न उनले आग्रह गरे । 

निगम कर्मचारी युनियनका महासचिव हेम लम्साल पनि २ असारदेखि ग्राउन्डेड भएको जहाज समयमा नै बनाएर उडान गर्न निगम नेतृत्व असक्षम भएको तर्क गर्छन् ।

‘थन्किएको जहाज मर्मत कहिले गर्ने भन्ने कुनै योजना छैन,’ उनले भने, ‘विनायोजना असम्बन्धित कर्मचारी ज्यालादारीमा भर्ती गर्ने विषयमा अब सबै कर्मचारी सचेत हुने बेला आएको छ ।’

निगम आफैं जहाज किन्दा लिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको पैसा तिर्न नसकेर अप्ठ्यारोमा परिसकेको छ । निगमले न कमाउन सकेको छ, न ऋण नै तिर्न सकेको छ । 

निगमले गत आर्थिक वर्ष २०७९/८० मा जसोतसो १ अर्ब ८७ करोड रुपैयाँ जहाज किन्दाको ऋण तिरे पनि अझै २६ अर्ब रुपैयाँ बाँकी नै रहेको कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए । 

निगमले नागरिक लगानी कोषलाई पनि करीब १८ अर्ब रुपैयाँ ऋणको साँवा र ब्याज तिर्नै बाँकी छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार निगमले असार मसान्तमा ८३ करोड रुपैयाँ तिरेको भने पनि कोषले पाएको रकम भने २५ करोड रुपैयाँ मात्रै हो ।

निगमले कोषलाई नियमित किस्ता तिर्न नसक्दा ऋणको दायित्व बढिरहेको सिलवालले बताए ।

गत असार मसान्तसम्ममा निगमले नागरिक लगानी कोषलाई मात्रै १७ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ तिर्नै बाँकी रहेको कोषका सूचना अधिकारी सिलवालले जानकारी दिए ।

हेर्नुहोस्, भर्ती गरिएका कर्मचारीको विवरण:

salt training

कमेन्ट गर्नुहोस्