सप्तरीका मनोजकुमार साउदीअरबका सडकमा भोकभोकै भौँतारिनु पर्ने अवस्था आएको छ ।
उनी १४ महिनाअघि गौशालाको हेभन ओभर्सिजमार्फत कफी शपमा काम गर्ने भनेर त्यहाँ पुगेका थिए । तर, साउदी पुगेपछि मनोजलाई ‘कफी शपमा काम गर्ने जस्तो अनुहार’ नभएको भन्दै काम दिइएन ।
आफू कठिन अवस्थाबाट गुज्रिनु परेपछि मनोज नेपाल फर्किन चाहन्छन् ।
नेपाल फर्काइदिन उनले म्यानपावर कम्पनी, राजदूतावात सबैतिर गुहारे, तर न म्यानपावर कम्पनीले सहयोग गर्यो, न त राजदूतावासले नै चासो देखायो ।
उल्टो साउदीमा रहेको राजदूतावासले मनोजलाई मुद्दा चलेको छ प्रहरीमा जान भनेर फर्काइदियो । साथमा मनोजलाई राजदूतावासले अरबिकमा लेखिएको पत्र थमाएको छ ।
नेपाली भाषा पनि राम्रोसँग नबुझ्ने मनोजकुमार अरबिक पत्र लिएर प्रहरीसम्म पनि पुगे । तर प्रहरीले भने पुनः राजदूतावास जान भनेको छ ।
सडकमा सुतिरहेको अवस्थामा अर्का एक नेपाली (धादिङका सुब्बा तामाङ)ले उनलाई देखे ।
उनले नेपालीजस्तो लागेर सोधीखोजी गरे । राम्रोसँग बोल्न पनि नसक्ने उनी निकै भोकाएका रहेछन् । कोठामा ल्याएर उनले खान दिए । त्यसपछि मनोज विस्तारै बोल्न थाले ।
पछिल्ला केही दिनदेखि मनोजलाई सुब्बाले नै राखेका छन् ।
उनी मनोजलाई जसरी हुन्छ, नेपाल फर्काउन लागेका छन् । यति बेला सुब्बाले नेपाली दाजुभाइको माया दर्शाएका छन् । विदेशी भूमिमा अहिले भगवान बनेर उभिएका छन् ।
हेर्नुहोस्, भिडियो :