
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को गीत सार्वजनिक गरिएको छ ।
तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ‘बिरामी मुलुक’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । बुधबार संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा जयन जे. वाइबाको शब्द, संगीत तथा स्वर छ । भिडियोमा चल अचल दृश्यमा चलचित्रका प्रायः सबै शीर्ष कलाकारलाई प्रस्तुत गरिएको छ ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको चलचित्रमा आकाश बरालको लेखन छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् ।
‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
चलचित्र ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए । त्यो बीचमा उनले केही सिनेमा तथा म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही गीतमा स्वर समेत भरेका थिए ।
कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा चलचित्र निर्माणको तयारी समेत गरे पनि ठूलो बजेटका कारण त्यो चलचित्रलाई पोस्टपोन्ड गर्दै ‘दिमाग खराब’को निर्माण तथा निर्देशन गरेका हुन् ।