शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् ।
सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले यस्तो बताएकी हुन् ।
शिक्षकहरूले पठनपाठन ठप्प पारेर आन्दोलन गरेकोप्रति सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका बेला उनले शनिवार पढाएर भए पनि पाठ्यक्रम सही ठाउँमा ल्याउने प्रतिबद्धता जनाएकी हुन् ।
‘विद्यार्थीको भविश्य हेरेर हामीले आजै सहमति गरेका हौं । किनकि, हामी आन्दोलन थप लम्ब्याउने पक्षमा थिएनौं । अब शनिवार पढाएर भए पनि कोर्स पूरा गछौं,’ लोकान्तरसँग कुरा गर्दै उनले भनिन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार साँझ अबेरसम्म भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको थियो ।
६ बुँदे सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका थिए ।
सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताको नेत्तृत्व गरेका थिए ।
सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा बुधवारदेखि शिक्षकहरू आन्दोलित थिए ।