
देवयानी इन्टरनेशनल नेपाल प्रालिले काठमाडौंको कलंकीमा विशेष केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
२३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा शनिवार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएका महिलाहरूद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याइएको हो ।
‘रेस्टुरेण्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरूको टोली सम्पूर्ण रेस्टुरेण्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ । यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसी को सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि हो’ देवयानी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ, सञ्चारले शब्दहरूलाई पार गर्छ । व्यापक प्रशिक्षणको साथ केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ ।’
केएफसी भारत र नेपालका सीईओ रजत लुथराले विशेष रुपमा बोल्ने तथा श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पाएकोमा खुशी व्यक्त गरे ।
परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोग रहने उनको प्रतिबद्धता थियो । ‘यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनलको लागि महत्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं,’उनले भने, ‘हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौं जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र उहाँहरूसँग काम गर्ने मौका पाएका छौं ।’