२९ जेठ २०८३, शुक्रबार
सुन तस्करीको धन्दा

प्रदेश मन्त्री जोडिएको सुन प्रकरणः सीआईबीबाटै अनुसन्धान हुनुपर्ने भन्सारको राय

असोज १७, २०८०
काठमाडौं
प्रदेश मन्त्री जोडिएको सुन प्रकरणः सीआईबीबाटै अनुसन्धान हुनुपर्ने भन्सारको राय

पछिल्लोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १ किलो सुनमा प्रदेश मन्त्रीको शंकास्पद् कनेक्सन देखिएपछि विमानस्थल भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

विमानस्थल भन्सार कार्यालयले आफ्नो तर्फबाट अनुसन्धान सकेर सोमवार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा हाई–प्रोफाइलसहित अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने राय समावेश छ ।

‘चेकलगायत विभिन्न विषयमा थप अनुसन्धान गर्न आवश्यक देखिएकाले सीआईबीबाटै संगठित अपराधमा अनुसन्धान हुनुपर्छ भन्ने राय दिएका छौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘त्यहाँ तीर्थ लामाले काटेको चेक र अन्य धेरै चेक भएकाले त्यो प्रहरीले नै हेर्नुपर्ने देखिन्छ ।’

कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन विमानस्थलबाट भदौ २५ गते १ किलो सुनसहित १ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट २ जना पक्राउ परेका थिए ।

उक्त सुनको व्यवस्थापन काभ्रे प्रतिनिधिसभा– १ प्रदेशसभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जनले मिलाएको खुलेको छ ।

फरार रहेका योञ्जनविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । सुनसहित १ जना पक्राउ परेपछि योञ्जन विमानस्थलमै गाडी छाडेर भागेका थिए । उनले छाडेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडीमा तीर्थ लामाले काटेको ७ लाख रुपैयाँको चेक फेला परेको थियो ।

प्रहरीले भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । 

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । 

बरामद सुन प्रहरीले भन्सारमा बुझाएपछि त्यहाँबाट अनुसन्धान भएको हो ।

भन्सार कार्यालयका अनुसार पक्राउ परेका बाबुलालले आफूले तेस्रोपटक सुन ल्याएको बयान दिएका छन् । ‘यो तेस्रोपटक हो भन्ने बयान उसले दिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनी पटक–पटक दुबई गएको देखिएको छ ।’

एकपटकमा मलद्वारमा लुकाएर आधा केजी सुन र एउटा आइफोन लिएर आउँदा खर्च कटाएर २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको बयान छ ।

तस्करीका लागि दुबईमा सुन पसल 

यो समूहले तस्करीकै उद्देश्य राखेर दुबईमा सुन पसल सञ्चालन गर्दै आएको खुलेको छ ।

उक्त पसलको आडमा काँचो सुनलाई सामान्य आकार दिएर नेपाल फर्किने सोझासाझालाई प्रलोभनमा पारी पठाउने गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको दाबी छ ।

त्यसरी पठाइएको सुनको बिलमै ‘लुज गोल्ड’ वा ‘गोल्ड बार’ लेखिएको हुने गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव नारद गौतमले बताए । 

‘विदेशबाट सुन ल्याउँदा बिलमा लुज गोल्ड वा गोल्ड बार लेखिएको हुन्छ, त्यो काँचो सुन हो । भन्सारले त्यसलाई मात्रै भन्सार तिराउने गरेको छ,’ उपसचिव गौतमले लोकान्तरसँग भने । 

विदेशबाट आउनेहरू यस्ता सुनको विषयमा जानकारी नहुँदा समस्यामा पर्ने गरेको उनले बताए । 

यसरी सुन ल्याउँदा १ ग्राममा १८ देखि २० डलर सस्तो पर्न जान्छ । त्यहाँ लगाउनका लागि बनाउने गहनालाई महंगो पर्न जान्छ । सोहीकारण रसायन प्रयोग नगरी सामान्य आकार मात्र दिएर ल्याउने गरेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्