
‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ गतेबाट हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा असोज २१ गते आइतवारसम्म चल्ने एक्स्पो नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको एकमात्र वृहत् एक्स्पो हो ।
जीएआई एफबीएचले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ । जसमध्ये १५ हजार व्यावसायिक आगन्तुकहरूको सहभागिता रहने जीएआई एफबीएचले जनाएको छ ।
यस मेलामार्फत् आगन्तुकहरूले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । साथै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरूको सङ्ख्यामा पनि वृद्धि रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलामा ५ हजार उत्पादन सेवाहरू, २ सय कम्पनीहरू रहनेछन् भने १८ सय वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् ।
कार्यक्रममा कम्पनीहरूले आफ्ना उत्पादनहरूको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरूका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर आयोजकको विश्वास छ ।
यसका साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्वपूर्ण स्थान हुनसक्ने आयोजकको दाबी छ ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार ५ सय रहेको छ । जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् ।
साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३ हजार ८०६ छ । जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।