२४ असार २०८३, बुधबार

साथीको चप्पल लगाएर बाग्लुङ झरेका गौतम एनआरएनएको उपाध्यक्षमा भिड्दै

असोज १८, २०८०
काठमाडौं
साथीको चप्पल लगाएर बाग्लुङ झरेका गौतम एनआरएनएको उपाध्यक्षमा भिड्दै

भनिन्छ, समय सधैं उस्तै रहन्न। समयसँगै मान्छेको यात्रा र सपना फेरिन्छन्। सपनासँगै उसको भविष्य पनि फेरिन्छ। भविष्य फेर्न मान्छेले विभिन्न पेशा व्यवसाय गर्छन् । 

सामान्य किसान परिवारमा जन्मिएका गंगाधर गौतम आजभन्दा ३० वर्ष अगाडि एउटा सपना बोकेर गलकोटदेखि घसघसाको उकालो पार गरेर सदरमुकाम बाग्लुङ बजार आइपुगेका थिए। पुरै एक दिनको पैदल यात्रा गरेर बाग्लुङ पुग्दा गौतमसँग खुट्टामा साथीसँग मागेको एकजोर चप्पल थियो। 

बाग्लुङ झरिसकेपछि गौतमले आफ्नो अध्ययनलाई अगाडि बढाउने विचार गरे। त्यसका लागि धवलागिरि बहुमुखी 
क्याम्पसमा भर्ना भए। 

शहरको रमझममा उनी खुशी भएनन्। गाउँकै दु:ख कष्ट अनि अभावहरूले उनलाई पिरोली रह्यो। तत्कालीन समयमा खाली खुट्टा हिँडिरहेका गाउँघरका आफूजस्तै हजारौ नेपालीहरूको खुट्टामा एकजोर चप्पल लगाई दिने सपना उनको मनमा आयो। 

पढ्न क्याम्पस भर्ना भएका उनी अचानक राजनीतिको लहरतिर होमिन पुगे। राजनीतिले मात्रै समग्रमा गरिबी र अभावको निर्मूल गर्छ भन्ने उनलाई छाप परेको थियो। लाईब्रेरीमा गएर बीपी कोइरालाका किताबहरू खोजी खोजी पढ्नु उनको दैनिकी थियो। 

सानैदेखि नै प्रचातान्त्रिक स्वभावका गंगाधर गाउँमा पनि निकै मिजासिला थिए। सानोमा उनलाई माया गर्नेहरू सबैले ठूलो नेता बन्छ भनेर फुर्काउने गर्दथे। 

यस्तै सपना, चाहना , बाध्यताबीच उनी राजनीतिमा सक्रिय रूपमा प्रवेश गरे। २०५३ देखि २०५७ सम्म दुईपटक सम्म नेविसंघ बाग्लुङको निर्वाचित जिल्ला सभापति भएर काम गरे। २०५१ मा बाग्लुङ्गको धवलागिरि क्याम्पसमा स्ववियु सभापतिमा समेत निर्वाचित भए।

यसरी युवा अवस्थामा नै राजनीतिक रूपमा एकपछि अर्को फड्को मारिरहेको बेलामा नेपाली राजनीतिमा अचानक नयाँ मोड आयो। नेकपा माओवादीले ०५२ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि उनको बाटो नै मोडियो। के कसो गर्ने भन्ने धर्म संकटमा परे। अन्तत, आमाको आग्रहलाई स्वीकार गरेर देश छाड्न तयार भए। 

२०५७ सालमा गौतमले वैदेशिक यात्राको तय गरे। बाग्लुङ बजार आउँदा चप्पल दिएको साथीसँग फेरि भेट्ने बाचा गरेर उनी युरोपको यात्रमा हिँडे। निकै हण्डर, ठक्कर खाएर बेल्जियम आइपुगे। अनि शुरू भयो- श्रमिकको जीवन। 

हुन त गंगाधर गौतम अहिले पनि श्रमिक नै छन्। तर श्रमिकसंगै श्रमिकको नेताको रूपमा उदायका छन्। श्रमिकसंगै समाजको नेता पनि छन्। डायस्पोराका नेपाली समुदायको सामाजिक, राजनीतिक नेतृत्व गरिरहेका छन्। कर्म क्षेत्र बेल्जियम भए पनि गौतमलाई सिंगो युरोपमा अविभावकको रूपमा मान्ने हजारौं नेपाली छन्। सबैको सुख-दु:खको साथी, अविभावकको रूपमा काम गरिरहेका छन्। 

बेल्जियम आएर गौतमले सन् २००० मा ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’ गठन गरेका थिए । उनी संस्थापक महामन्त्री भए । २००६ मा उनी नेपाली जनसम्पर्क समिति बेल्जियमको महामन्त्री भए। सन् २००७ मा युरोपभरिका कांग्रेसजनको भेलापछि गठित नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्री भए। सन् २००८ देखि २०१३ सम्म उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको सर्वसम्मत सभापति भएका थिए ।

तर उनको परिचय केही वर्षदेखि फेरिएको छ, एकजना एनआरएनए अभियान्ता र ग्राईण्ड डिजाईनरको रूपमा। 

उनी जस्तो सुकै विवादलाई पनि सुझबुझका साथ हल गर्ने व्यक्तिको रूपमा चिनिएका छन्। एनआरएनएमा शेष घले र कुमार पन्तबीच नेतृत्वको टकराब हुँदा दुवै समूहलाई मिलाएर लैजान उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

डायस्पोरामा सधैं नेपाली समाजको लागि उभिने यिनै गंगाधर गैतमले यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । यही अक्टोबरमा काठमाडौंमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

युरोप क्षेत्र र खासगरी बेल्जियममा एनआरएनएका प्रतिनिधिहरूको सबैभन्दा बढी संख्या रहेको छ । त्यसमा गंगाधर गौतम निकै परिचित नाम हो ।

अहिले गौतम युरोपका विभिन्न देशका एनआरएनए प्रतिनिधिसँग भेटघाट गरेर आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागेका छन् ।

संसारभरिको एनआरएनएलाई एक ढिक्का बनाएर लैजान आफ्नो चाहना रहेको उनले बताए । ‘हामी गैर आवासीय नेपाली आफ्नो स्वार्थको लागि नभई जन्मभूमीको हितका लागि एकजुट हुनु परेको छ,’ गौतम भन्छन्, ‘एक पटकको नेपाली सधैंको नेपालीको नारालाई स्थापित गर्ने मेरो चाहना, उद्देश्य र संकल्प छ ।’ 

गैर आवासीय नेपाली नागरिकता विधेयकलाई संसदबाट पारित गराउन गौतमले राजनीतिक रूपमा माहोल सिर्जना गर्न निकै ठूलो भूमिका खेलेका थिए । आफ्नो पृष्ठभूमि राजनीतिसँग जोडिएको र नागरिकता पनि राजनीतिक समस्या भएको भन्दै उनले आफ्नो पार्टी नेपाली कांग्रेस सरकारमा भएको बेला पटक–पटक पहलकदमी गरेका थिए ।

पछिल्लो समय एनआरएनएको विधान समितिको सदस्य सचिव भएर काम गरेका गौतम हाल एनआरएनएको केन्द्रीय सचिव छन् । सन् २००६ मा एनआरएनए बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५–१७ कार्यकालको लागि अध्यक्ष निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्