
इरानी महिलाको पक्षमा निरन्तर आवाज उठाएकी मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ ।
द नर्वेजियन नोबेल कमिटीले शुक्रवार यस्तो निर्णय गरेको हो ।

इरानी नागरिक नर्गिसले त्यहाँका महिलामाथि भएको धार्मिक उत्पीडनका विरुद्ध आवाज उठाउनका साथै समग्र मानवअधिकार र स्वतन्त्रताको प्रवद्र्धनमा लागिपरेकी छिन् ।
५१ वर्षीया नर्गिस डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी अध्यक्षसमेत हुन् ।
सन् २०२२ को डिसेम्बरमा सामाजिक नियम पालना नगरेको आरोपमा इरानको धार्मिक सत्ताले महसा अमिनीलाई हिरासतमा राखेको थियो । अमिनीको हिरासतमै मृत्यु भएको थियो । त्यसको विरोधको नेतृत्व पंक्तिमा नर्गिस पनि थिइन् ।
सो बेला नर्गिसले हिरासतमा राखिएका महिलाहरूको यौन र शारीरिक दुर्व्यवहारको विस्तृत विवरण सार्वजनिक गरेर सनसनी मच्चाइदिएकी थिइन् ।
महिलाको पक्षमा वकालत गरेबापत नर्गिस आफैँ पनि बन्दी जीवन बिताइरहेकी छिन् ।