
नेपालीहरूको ठूलो चाड दशैं नजिकिँदै जाँदा सर्वसाधारण नागरिकहरू घर फर्किने तयारीमा छन् । तर, देशका मुख्य सडकहरू मर्मतका क्रममा रहेकाले यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने भएको छ ।
मनसुन सकिएको लामो समय नभएकाले ग्रामीण सडकहरू मर्मतकै क्रममा छन् भने मुख्य राजमार्गहरूमा पनि मर्मत तथा स्तरोन्नतिको काम चलिरहेको छ ।
मुग्लिन–पोखरा र नारायणगढ–बुटवल स्तरोन्नतिका क्रममा रहेका मुख्य सडक हुन भने बाँकीमा वर्षाले क्षति पुर्याएको ठाउँमा मर्मत भइरहेको छ । यो वर्ष वर्षातका कारण देशभरमा ३ हजार ७३७ किलोमिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक इञ्जिनीयर प्रभातकुमार झाका अनुसार वर्षात् कम भएसँगै अहिलेसम्म १ हजार ४७ किलोमिटर सडक मर्मत गरिएको छ ।
‘सोमवारसम्मको तथ्यांक अनुसार देशभरमा १०४७ किलोमिटर सडक मर्मत भएको छ, उपमहानिर्देशक झाले लोकान्तरसँग भने, ‘अहिले दिनकै मर्मत भइरहेको छ । त्यसले यो प्रत्येक दिन बढ्दै जान्छ ।’
देशभरमा ३ सय १८ क्षेत्रका सडकहरू निर्माण भइरहेका छन् । काठमाडौं जिल्लामा मात्रै १३० ठाउँमा मर्मत भइरहेको सडक विभागले जनाएको छ ।

विभागले मुख्यगरी सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी, काठमाडौं, पोखरा र सुर्खेतबाट काम गरिरहेको छ ।
जसमा इटहरीअन्तर्गत ६ सय १५ किलोमिटर सडकमध्ये ३ सय १० किलोमिटर सडक मर्मत भएको छ । काठमाडौंअन्तर्गतको १ हजार २२२ किलोमिटर सडकमध्ये २३६ किलोमिटर मात्रै मर्मत भएको छ ।
पोखरा कार्यालयअन्तर्गत ६ सय ४६ किलोमिटर सडकमध्ये १४३ किलोमिटर मर्मत भएको छ ।
सुर्खेत कार्यालअर्गतको २२४ किलोमिटरमध्ये ८० किलोमिटर मात्रै सडक मर्मत भएको सडक विभागले जनाएको छ । विभागले दशैंतिहारलाई लक्षित गरेर २ हजार ७०७ किलोमिटर सडक बनाउने लक्ष्य लिएको उपमहानिर्देशक झाले लोकान्तरलाई बताए ।
उनका अनुसार यी सकडमा १ अर्ब ३६ करोड १३ लाख बराबरको क्षति भएको छ । ती सडकलाई मर्मत गर्न २ अर्ब ४ करोड ४२ लाख रुपैयाँ खर्च हुन्छ ।
विभागले छोटो समयमा तीव्र गतिको उच्च वर्षात, भिरालो भू–बनोट र अव्यवस्थित मानवीय क्रियाकलापका कारण अस्थिर प्राकृतिक सतह, राजमार्गमा अनुचित एवं अनियन्त्रित पहुँच मार्गको निर्माण, अनियन्त्रित नदी कटान आदि कारणले सडकमा क्षति पुगेको जनाएको छ ।
काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग), ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइला भञ्ज्याङ, डुम्रे–बेसीसहर–चामे, तानसेन–रिडी–कोरला, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा (सिद्धार्थ राजमार्ग), भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट, सिर्सिया–पथलैया, हेटौडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं (त्रिभुवन राजपथ), पुष्पलाल (मध्यपहाडी) राजमार्ग, बर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल (बी.पी. राजमार्ग) र अमेलिया–तुल्सीपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग) लगायतका राजमार्गहरू अहिले अधिकांश समय बन्द गरेर मर्मत भइरहेको छ । दिनमा केही घण्टालाई मात्र खोलेर बाँकी समय बन्द गर्ने गरिएको छ ।
बाँकी सडकहरू केही समय बन्द गर्ने तथा केही समय खोल्ने गरी काम भइरहेको विभागको भनाइ छ ।
हेर्नुहोस्, मर्मत भइरहेका सडकहरू :


खानेपानी र ढलले गर्दा सडकमा समस्या
सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाका अनुसार उपत्यकालगायत देशका अधिकांश शहरी क्षेत्रमा खानेपानीको पाइपलाइन र ढलले गर्दा सडकमा समस्या देखिएको छ ।
‘काठमाडौंमा त कहिले ढलले, कहिले खानेपानीले, कहिले मेलम्चीले, कहिले विद्युतले सडक भत्काउँदा मर्मतमा निकै समस्या देखिन्छ,’ झाले लोकान्तरसँग भने, ‘देशभरीमा अन्य कारणहरू पनि छन् ।’
सडक विभागका अनुसार सार्वजनिक खरिद नियमावली– २०६४ अनुसार एक निर्माण व्यवसायीले ५ वटाभन्दा बढी ठेक्का नपाउने अवस्था छ । त्यसका कारण सडक मर्मतजस्ता स–साना ठेक्कामा बोलपत्र प्रक्रियामा नै ठेकेदारले भाग नलिने समस्या पनि देखिएको छ । निर्माण व्यवसायीहरूबाट समयमा मर्मत नहुँदा र सवारीले तोकिएभन्दा बढी तौलका सामान बोक्दा पनि समस्या देखिएको उपमहानिर्देशक झाले बताए ।
सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि भैपरी आउने खर्चका लागि ३ अर्ब ६७ करोड १४ लाख मध्ये १ अर्ब ६५ करोड ५० लाख रुपैयाँ सडकलाई छुट्टाएको छ ।