
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्वलगायत १५५ देशहरूमा सञ्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार यूएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आईएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने छ ।
यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आईएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आईएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताएका छन् ।
अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आईएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् ।
यो रणनीतिक साझेदारी, यूएई र त्यसभन्दा बाहिरसमेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन् ।