
इटहरी, ८ असोज — संकटकालको समय थियो । इटहरी–२ को हवाइ चौकमा एउटा लफडा परिरहेको थियो । नेपाली सेनाका जमानको श्रीमतीलाइ स्थानीय केही गुण्डा केटाहरूले कुटेको विषयमा उपस्थित भीडमा थिए राम धामी ।
राम धामीसँगै थिए उनका मित्र डुकबहादुर कार्की । कार्कीसँग गफिन आएका तत्कालीन इटहरी इलाका प्रहरीका सइ रुकुम नेपालले सोधे, ‘राम धामीको घर थाहा छ ?’
आफूले व्यक्तिगत रूपमा नचिनेका प्रहरीका सइले आफ्नै अगाडि घर खोजेपछि धामी आश्चर्यचकित भए । चकित किन पनि भए भने धामीले आफूले थाहा पाएसम्म गल्ती र अपराध गरेका थिएनन् । पछि घरमा आएका प्रहरले धामीलाई ‘हामीसँग हिँड्नुस्’ भने ।
धामीले ‘के गल्ती भयो, त्यो त थाहा पाऊँ’ भन्दा प्रहरीले ‘त्यस्तो केही हैन, जाऊँ न इलाका’ भनेर लग्यो ।
हत्कडी नलगाई र कुनै अपमान नगरी इटहरी चोकैमा रहेको प्रहरी कार्यालयमा राखिएका धामीलाई न कुनै सोधपुछ गरियो, न केही भनियो नै । बिहान खाना खाने समयबाट इलाका प्रहरी कार्यालयभित्रको बेन्चमा बसेका धामीले साँझ पर्न लागेपछि प्रहरीलाई सोधे, ‘अब त भोक पनि हदै लाग्यो र रात पनि पर्न लाग्यो । कि मलाई किन ल्याएको भन्नुप–यो, कि अब घर जान दिनुप–यो ।’
धामीले यत्ति के भनेका थिए, एकजना प्रहरीले उनलाई बन्द कोठामा धकेल्दै भने, ‘ए, घर जाने हो ? यही हो अब तेरो घर ।’
यसरी आफूले थाहै नपाएको अपराधमा पहिलोपटक प्रहरीको खोरमा परे हाल नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ सभासदस्य समेत रहेका राम धामी । उनले इटहरीको थानामा २१ दिन बिताए । दिसा गर्न मात्रै बाहिर जान दिने प्रहरीको थुनुवाकक्षामा तीन हप्ता बिताएका धामीले पिसाब भने त्यसी कोठाभित्रै गर्नुपर्थ्यो ।
पिसाबले ठसठसी गनाएको साँघुरो बन्दीगृहमा धूप बालेर केही राहत हुन्थ्यो । आफूलाई के कारणले थुनिएको थाहै नपाएका धामीलाई २१ दिनपछि जिल्ला प्रहरी कार्यालय इनरुवामा लगियो । सधैं गीत र संगीतको काम गर्ने धामीले न इटहरीमा गीत गुनगुनाउन पाए, न त फुरेका गीतहरू लेख्नै पाए । अगरबत्तीको खोलमा लेखिएका गीतहरूसम्म प्रहरीले आफूसँगै लान दिएन ।
धामी त्यो समय सम्झिँदै भन्छन्, ‘गीत गाउन खोज्दा हप्काएर हैरान गर्थ्यो प्रहरीले । अगरबत्तीको खोलमा लेखेको गीत पनि आफूसँगै लान दिएन ।’
‘संगीत सिकाएकोमा आतंककारी’इटहरीमा रहुन्जेल आफूलाइ पक्राउ गरेर थुनेको कुनै अत्तोपत्तो नपाएका धामीले इनरुवाको जिल्ला प्रहरी कार्यालयमा लगिएपछि मात्रै बुझे आफूलाई पक्राउ गर्नुको कारण त संगीत सिकाउनु नै रहेछ । इटहरीमा २०५० सालदेखि सञ्चालित संगीत साधना महाविद्यालयमा संगीत सिकाउँथे धामी ।
संगीत सिक्न पूर्वका विभिन्न स्थानका विद्यार्थीहरू आउँथे । त्यहाँ आउनेहरूमा माओवादी पनि परेछन् । माओवादीलाई पनि संगीत सिकाएको बुझेर प्रहरीले धामीलाई तत्कालीन अवस्थामा ‘आतंककारी संगठन’ भनिएको माओवादीको नेता सम्झेछन् ।
प्रगतिशील विचारधारा अपनाउने भएपनि माओवादी थिएनन् धामी । मार्क्स, लेनिन र माओलाई पढेपनि बन्दुकबाट मात्रै नेपालमा सत्ता प्राप्त हुन्छ भन्ने नेपाली माओवादीको विचारमा सहमत पनि थिएनन् उनी ।
तर उनै धामी माओवादीको नेता ठानिएर थुनामा परे । एक्काईस दिन इटहरीमा बसेका धामीले इनरुवा र भण्टाबारी थुना गरेर सय दिनभन्दा धेरै प्रहरी हिरासतको कालो कोठामा बस्न बाध्य हुनुपरेको थियो ।
‘संगीतले आँसु र आनन्द दुवै दियो’२०४८ सालमा रेडियो नेपालको ‘भोइस टेस्ट’ उत्तीर्ण गरेका धामीले गीत गाउन थालेको त २०४३ सालबाटै हो । संगीतमा सिद्धहस्त धामीले थुप्रै नेपाली गीतहरूमा काम गरेका छन् । उनले गाएका केही थारू गीतहरू त अझै पनि धेरैको मुखमा झुण्डिएकै छन् ।
‘एक बोतल दारी’, ‘चढ्लै जवानी हम्रा’, ‘चैत गैले बैशाख यैलै’ र ‘बुल्किवाली हो’ जस्ता थारू भाषामा उनले गाएका गीतहरू हिट छन् । तर यत्तिका गीतका सर्जक अनि गीतसंगीतबाहेक अन्य पेशा समेत नअपनाएका धामीले विना अपराध थुनामा समय बिताउनुप–यो ।
थुनामा पाएको यातानाले बेलाबेला बेचैन हुन्थे धामी । बन्द र अँध्यारो कोठामा विनाकसूर सजाय भोग्दा मानसिक यातना भएको अनुभव सुनाउँछन् उनी ।
आफ्नो स्वतन्त्र संगीत कर्म गर्दागर्दै हातमा हत्कडी र आँखामा पट्टी बाँधेर साँघुरो र पिसाबले भिजिएका कोठामा थुनिएको दिन सम्झँदा अझै पनि धामी भावुक बन्छन् । पीडा र प्रसन्नता दुवै दिने गीतसंगीतको आफ्नो बन्दी जीवन सम्झँदै धामी भन्छन्, ‘मलाई संगीतले आँसु र आनन्द दुवै दियो ।’
आफूले संगीतकर्मकै कारणले ‘आतंककारी’ बनेर थुनामा हप्तौं बिताउनुपरेको बताउने धामीका संगीतकर्मकै कारण थुनामा विशेष सुविधा पाएको पनि बताउँछन् । इटहरी थुनामा हुँदा गीत गाउन नपाएपनि इनरुवा र भण्टाबारीमा भने धामीले निर्धक्क गाउन पाएको बताउँछन् ।
उनी भन्छन्, ‘कतिपय प्रहरीका सेन्ट्रीहरू मेरो गीतमा खुब रमाइलो गर्थे कत्तिसम्म भने मैले गीत गाएको मन पराएर समोसा, पान र चिया दिने कामसमेत प्रहरीले गरे ।’
धामीले गीत गाएको मन पराएपछि पूर्ण बन्द भएको कोठाका झ्यालहरू पनि केही खोलिदिएर कोठामा प्रकाश छिर्न दिएको पनि धामी अझै याद गर्छन् । संगीत सिकाएर जेल परेका धामीले गीत गाएका कारण थुनामा शारीरिक यातनाबाट जोगिन सके ।
त्यसो त थुनामा पनि गीत गाएकै कारण दुःखी पनि भएका छन् धामी ।
एक दिन धामीले पल्लो कोठाका आफ्नो गीत गाउने बन्दीलाई प्रहरीले पानी खन्याएर नांगेझार पारेर कुटेको दृश्य देखे । त्यो पल सम्झँदै कुटाइ खाने युवकलाई प्रहरीले हप्काएको धामी अझै स्मरण गर्छन् ।
उनी भन्छन्, ‘प्रहरीले तैले किन गीत गाएको भनी बेस्सरी कुटेको कैदीलाई प्रहरीले भन्दै थियोे । त्यो धामी पो गीतकै काम गर्ने हो र रियाज गरेको हो । तँलाई गीत गाउने तेरो कन्सर्ट हो यो?’
यसबाहेक बन्दीगृहको अर्को गज्जबको प्रसंग पनि छ । एक दिन एउटा प्रहरी आएर कड्क्यो, ‘कहाँ छ राज धामी खै?’ यो कुराले धामीलाई कुटाइ खान पो लागियो कि भनेर तनाव भयो र भद्र अनि मन्द स्वरमा ‘यहाँ छु, सर’ मात्र भने धामीले । जवाफमा प्रहरी जवानले भने, ‘यार, आज मलाइ लास्टै टेन्सन भएको छ । प्लिज नारायणगोपालको एउटा गीत गाइदेऊ न ।’
माओवादीमा नजान ‘मदिरालय’को यात्रासय दिनभन्दा बढी विनाप्रमाणको असत्य कसूरमा बन्दी बनेका धामी २०५८ साल चैत्र २ गते सादा तारिखमा छुटे । छुटेको सय दिनसम्म पनि धामीले तारिखमा जानुपर्थ्यो ।
त्यसबेला सुनसरीका तत्कालीन कार्यवाहक सीडीओ होमबहादुर खड्काले सादा तारिखमा छुटाएका धामीलाई तारिख धाउँदा सोधिने एकमात्रै दोहोरिने प्रश्न हुन्थ्यो – तेरो गाउँमा को को माओवादी छ र कति बढे माओवादी ?
तारिखमा माओवादीका बारेमा आफूलाइ थाहा नभएको भनेर तर्किने धामीलाई गाउँमा भने माओवादीबाट तर्कन साह्रै प–यो । हरेक दिनजसो विभिन्न ठाउँबाट आउने माओवादीले धामीलाई माओवादी पार्टीमा लाग्न आग्रह गर्थे । माओवादी नभइकन माओवादीको नाममा यातना पाएको भावनात्मक कुरा गरेर माओवादीमा तान्ने प्रयास पनि भएको धामी बताउँछन् ।
पटकपटक जान्नँ भन्दा पनि जाऊँ भनेर माओवादीले कर गरेपछि धामीले मदिरा खाएर माओवादीबाट फुत्किने विकल्प निकाले । दारु खाने र मातेर हिँड्नेलाई माओवादीले जाऊँ भन्दैनन् भन्ने धामीलाई विश्वास थियो ।
तर कतै माओवादीले मातेको भनेर भाटे कारवाही त गर्दैन भन्ने पीर पनि धामीलाई थियो । धामीले बरू भाटे कारबाही भोग्न तयार रहने सोचेरै मदिरालय धाउन थालेको बताए ।
उनी भन्छन्, ‘माओवादीको दाग लाग्नुभन्दा भाटाको दाग लाग्नु सही लाग्यो ।’
आफूले विनाकसूर बन्दी हुनुपरेको कुरामा त्यत्ति पीर नमान्ने धामी आफू बन्दी भएको प्रमाणपत्र खोसिएकोमा चाहिँ पीर मान्छन् । त्यसबेला सुनसरीको राष्ट्रिय अनुसन्धान विभागका डीएसपी भरत सिलवालले आफूलाई सरकारी बन्दी र आतंककारी गतिविधिमा संलग्न भएको भनेर दिएको कागज खोसेको धामीको भनाइ छ ।
‘संगीतको कारणले बन्दी भएको कागज त मसँग रहेन’, धामी भन्छन्, ‘त्यसले पनि केही फरक पार्दैन किनभने कागज मेरो लागि केही हैन । संगीत नै मेरो जीवन हो ।’