२७ असार २०८३, शनिबार
नयाँ ध्रुवीकरणको दिशामा कांग्रेस

अप्रत्याशित कोशी विद्रोहपछिको कांग्रेस : शान्त देउवा, दबाबमा शेखर !

कात्तिक १२, २०८०
काठमाडौं
अप्रत्याशित कोशी विद्रोहपछिको कांग्रेस : शान्त देउवा, दबाबमा शेखर !

कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन डा. शेखर कोइराला पक्षले अप्रत्याशित विद्रोह गरेपछि कांग्रेसमा उत्पन्न तनाव अझै साम्य भइसकेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा ‘कोशी विद्रोह’मा आँखा चिम्लिएका सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरू अहिले शान्त रहँदा इतर खेमामा भने अर्को ध्रुवीकरणको सम्भावना बढेर गएको छ । यो घटनाले शेखर र महामन्त्री गगन थापाबीच दरार बढाएको हो ।

इतर खेमामा बेमेल सिर्जना हुनुलाई अवसरको रूपमा हेरेको संस्थापन पक्ष कोशीलाई अब ठूलो इस्यू बनाएर जानु हुँदैन भनिरहेको छ ।

‘कोशीमा जे हुनु भइहाल्यो, अब यसैलाई ठूलो इस्यू बनाएर जानु हुँदैन भन्नेमा नेताहरू हुनुहुन्छ । गठबन्धनलाई बलियो बनाएर जानेमा पनि समस्या छैन,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘एमाले सरकारमा सहभागी भएकाले सर्वपक्षीय, सर्वदलीय सरकार बनाएर पनि जान सकिन्छ ।’ 

सरकारको विषय अब गठबन्धन र एमालेको चासोसँग जोडिएको उनी बताउँछन् । 

‘एमाले कोशीको सरकारबाहिर भएको भए अवस्था सामान्य हुँदै जान्थ्यो । तर सरकारमै सहभागी भएकाले अब मिलाएरै अगाडि बढ्नुको विकल्प छैन,’ विश्वकर्मा भन्छन्, ‘यसैले अब कांग्रेसभित्रको तनाव साम्य भएपछि कोशीमा सत्ता गठबन्धन र एमालेबीचको समझदारी नै मुख्य हो ।’

कोशीमा कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । तर, शेखर पक्षका ८ सांसद एमालेका ३९ सांसदसँग मिलेपछि केदार कार्की मुख्यमन्त्री बन्न पुगे । संविधानको धारा १६८(५) मा जाँदा पार्टी ह्वीप नलाग्ने भएपछि शेखर पक्षको विद्रोहमा लगाम कस्न पार्टीलाई मुस्किल परेको थियो ।

यो विद्रोहबाट ठूलो घाटाभन्दा फाइदा नै भएको बुझेको संस्थापन पक्ष अब समझदारीमै अगाडि बढ्नुपर्ने पक्षमा देखिएको छ ।

‘इगो नै लिने अवस्था भएको भए कोशीमा गठबन्धनले अगाडि सारेको उम्मेदवारको पक्षमा उभिने अवस्था बन्थ्यो । तर, प्रधानमन्त्री, हाम्रो सभापति र विद्रोह गर्नुभएका नेताबीच गठबन्धनलाई बलियो बनाउने समझदारी भएपछि स्थिति नियन्त्रणमा आएको हो,’ विश्वकर्मा भन्छन्, ‘कोशीमा आएको समस्या र तनाव सामान्य होइन, तर यसलाई समझदारीमा बदल्न सकिन्छ भन्नेमा नेताहरू छिट्टै पुग्दा यो घटना जोमिखपूर्ण नबनेको हो ।’ 

कोशीको समस्यापछि समझदारी जुटाउन प्रधानमन्त्री, सभापति र शेखरबीच पटक–पटक छलफल भएको विश्वकर्मा बताउँछन् । तर, अझै पनि स्थिति नियन्त्रणमा आइसकेको मान्न उनी तयार छैनन् ।

‘जे भयो भयो अब त्यतातिर होइन, अवस्थालाई सामान्य बनाएर जाऊँ भन्नेमा नेताहरू पुग्नुभएको हो, तर पनि तनावतिर जाँदैन भन्न सकिँदैन,’ उनी भन्छन् । 

कोशीको घटनापछि भिडेर जाँदा केन्द्रीय सत्ता गठबन्धनमा पनि समस्या आउने भएपछि सभापति शेरबहादुर देउवाले नरम नीति लिएको उनीनिकट नेताहरू बताउँछन्, किनकि अहिलेको गठबन्धनमा समस्या आए प्रधानमन्त्री हुने आफ्नो अभिलाषा पूरा नहुने र प्रदेशको सरकार पनि हल्लिने डर देउवामा रहेको छ । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौला कोशीको घटना राजनीतिक नभएको बताउँछन् । 

‘प्रधानमन्त्री, सभापति र विद्रोह गर्ने नेताले सहमति गरेपछि स्थिति नियन्त्रण भएको हो कि जस्तो देखिएको छ, तर कोशीमा राजनीतिक होइन, लोभीपापी घटना हुन पुगेको छ,’ सिटौला भन्छन्, ‘यसले मलाई आश्चर्यमा पारेको छैन, तर यसको रूप कसरी अगाडि बढ्छ, अहिल्यै भन्न सकिँदैन ।’

शेखरको यो विद्रोहपछि कांग्रेसभित्रको उकुसमुकुस अझै सेलाएको छैन । आफ्नै टीममा भएका महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाशलाई समेत विश्वासमा नलिई शेखरले विद्रोह गराएका थिए, जसले कांग्रेसमा तीनवटा धारलाई सतहमै ल्याइदिएको थियो ।

यसअघि संस्थापन र इतर मुख्य धार थिए । शेखरले समेट्न नसकेपछि गगन र विश्वप्रकाशको धार पनि सतहमा देखिन थालेको छ ।

कोशीले शेखरलाई झन् गाह्रो

अप्ठ्यारोबीच १ कात्तिकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिएदेखि नै एमालेले छिटो सरकार विस्तारका लागि दबाब दिइरहेको छ । 

तर, कार्कीले अनेक बहानामा टार्दै आएका छन् । कांग्रेसको विद्रोही नेताको रूपमा ८ सांसद लिएर एमालेसँग मिले पनि उनलाई पार्टीको मूलधारलाई कसरी समेट्ने भन्ने समस्या छ । 

एमालेले छिटो सरकार विस्तार गर्न दबाब दिने र विद्रोहपछि 'सेफ ल्यान्डिङ' गर्न कांग्रेसको मूलधार र माओवादीलाई समेत समेट्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई छ ।

‘सहज अवस्था हुन्थ्यो भने कोशीमा सरकार विस्तार भइसक्थ्यो, तर शेखर टीमले आफ्नै टीमका महामन्त्री (गगन थापा) सँग पनि कोशीमा अब कसरी जाने र राष्ट्रिय राजनीतिमा कसरी जाने भन्नेमा संवाद नै गर्नुभएको छैन,’ गगन थापानिकट स्रोतले भन्यो, ‘मध्यावधि रोक्न विद्रोह भनियो, तर एमालेको दबाबबीच सरकार विस्तार भएको छैन । सरकार विस्तार गरौं एमालेलाई मन्त्री बनाउनुपर्ने, नगरौं सत्ता गठबन्धनको आफ्नै पार्टी र माओवादीसँग गरिएको समझदारी भंग हुने चिन्ता छ ।’ 

‘सहज अवस्था हुन्थ्यो भने कोशीमा सरकार विस्तार भइसक्थ्यो, तर शेखर टीमले आफ्नै टीमका महामन्त्री (गगन थापा) सँग पनि कोशीमा अब कसरी जाने र राष्ट्रिय राजनीतिमा कसरी जाने भन्नेमा संवाद नै गर्नुभएको छैन,’ गगन थापानिकट स्रोतले भन्यो, ‘मध्यावधि रोक्न विद्रोह भनियो, तर एमालेको दबाबबीच सरकार विस्तार भएको छैन । सरकार विस्तार गरौं एमालेलाई मन्त्री बनाउनुपर्ने, नगरौं सत्ता गठबन्धनको आफ्नै पार्टी र माओवादीसँग गरिएको समझदारी भंग हुने चिन्ता छ ।’ 

मुख्यमन्त्रीले कांग्रेस र माओवादीलाई च्यापे एमालेले सरकार छाड्ने र पुनः विश्वासको मत लिनुपर्ने पहिलेकैजस्तो स्थितिमा पुग्नुपर्ने अवस्था आउने ती नेता बताउँछन् । 

‘सरकार माओवादीलाई समेत राखेर सरकार बनाउनुपर्ने छ, तर माओवादी भित्रिँदा एमालेले छोड्छ । फेरि विश्वासको मत लिनुपर्छ । तर, बहुमत पुग्दैन,’ ती नेता भन्छन्, ‘यसैले मध्यावधि रोक्न भनिए पनि स्वार्थमा कोशीमा राजनीतिक उपद्रो गरिएको थियो भन्ने घटनाबाट पुष्टि हुँदै जान्छ ।’

कोशीमा विकल्प भन्दै उठाइएको जोखिमले शेखरलाई नै 'सेटब्याक' गराएको ती नेता बताउँछन् । 

‘संसदीय दलको नेता परिवर्तन गर्न सकिन्छ भन्नेमा एउटा छलफल थियो । गगन थापा स्वयंले आफ्नो सर्कलमा मलाई भोट नहाले पनि अब परिवर्तन गर्दा शेखर दाइका लागि ४५ भोट कटाउन सकिन्छ भनेर प्रयत्न गर्नुभएको थियो । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि तयार भइसक्नुभएको थियो । तर, पार नलाग्ने र उपद्रोपूर्ण कोशी काण्डले शेखर स्वयंले प्रधानमन्त्री बन्न सक्ने अवस्थालाई लात हान्नुभयो । यसले उहाँलाई फाइदा पुर्‍याएन ।’

कोशीको यो कदमपछि देउवा र प्रचण्ड झन् नजिकिएको ती नेताको विश्लेषण छ ।

‘कोशीमा विकल्प छैन भन्नेलाई सबक सिकाउन गरिएको भनियो, तर घटनाक्रमले शेखर दाइ नै कोशीमा सेटब्याकमा पर्नुभयो,’ ती नेता भन्छन्, ‘गठबन्धन बलियो बन्यो, हाम्रै सभापति र प्रधानमन्त्रीको सम्बन्धलाई झन् बलियो बनायो ।’

कोशीमा स्थायी समाधान दिनेभन्दा अब बागमतीसहित अरू प्रदेशमा पनि समाधान नहुने विच्छृङ्खलता देखिन सक्ने ती नेता बताउँछन् । महामन्त्री गगन थापालाई समेत थाहा नदिई कोशीमा विद्रोह गरिएकोमा उनी पक्षीय युवा नेताहरू रिसाएका देखिन्छन् ।

‘अर्जुननरसिंह केसीको घरमा बसेर गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितका नेताले दलको नेता शेखरलाई बनाउने तर १५ औं महाधिवशेनमा सभापति को उठ्ने भन्ने पछि नै तय गर्ने समझदारी भएको थियो,’ ती नेता भन्छन्, ‘तर गोविन्दराज पोखरेललाई कोशीमा के हुँदैछ भन्ने थाहा हुने, अनि महामन्त्रीलाई नहुने कसरी भयो ? मीनेन्द्र रिजालले भाइहरूलाई नेता मान्न सकिँदैन भनेर धनराज गुरुङ, चन्द्र भण्डारी सहितलाई एक ठाउँमा उभ्याउन खोजे पनि अब नयाँ ध्रुवीकरणतिर जाने पक्काजस्तै छ ।’ 

नयाँ पार्टी रास्वपाका रवि लामिछानेले दबाब बढाइरहँदा युवा पुस्ताका नेता अगाडि सर्नुको विकल्प नभएको ती नेता बताउँछन् ।

‘शेरबहादुरले महामन्त्रीलाई बेवास्ता गरे भन्ने, तर आफ्नै टीमका महामन्त्रीले के हुँदैछ भन्ने थाहा नपाउने अवस्थाले अब स्थिति सहज होइन, असहज बन्दैछ भन्ने देखाएको छ,’ ती नेता भन्छन्, ‘कोशीमा कार्की मुख्यमन्त्री भएको यति लामो समय भइसक्यो, तर शेखर र महामन्त्रीबीच संवादसमेत हुन सकेको छैन ।’

यस्तै भइरहे शेखर टीममै हुने नयाँ ध्रुवीकरणलाई कसैले रोक्न नसक्ने ती नेता बताउँछन् ।

‘कोशी काण्डपछि शेखर र गगनलाई एक ठाउँमा उभिन नदिने बाहिरी पक्ष हावी हुन खोज्नु स्वाभाविक नै हो, तर भित्रैबाट पनि मिल्न नदिने तत्त्व छन्,’ ती नेता भन्छन् ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कोशी विद्रोहपछि शेखरलाई नै संकट परेको बताउँछन् । 

‘उहाँले विद्रोह गराएपछि कि यसको औचित्य पुष्टि गर्नुपर्ने हुन्छ, नभए आफैंले नोक्सानी बेहोर्नुपर्छ,’ दाहाल भन्छन्, ‘विद्रोहलाई सहज अवतरण गराउन सक्छन् वा सक्दैनन्, यसले शेखर टीमको भविष्य र सन्तुलन निर्धारण गर्छ । कोशीको असर र प्रभाव विस्तारै देखिँदै जान्छ ।’  

शेखर टीमबाट सह–ममहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे भने अहिलेसम्म सन्तुलन मिलाउने हिसाबले मात्रै धारणा राखिरहेका छन् । 

अहिले कोशीको इस्यू भए पनि १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कि गगन भन्ने लडाइँले ध्रुवीकरण थप बढाउने देखिएको हो । 

शनिबार कांग्रेसले गरेको चियापानमा पनि शेखरले सक्रियतापूर्वक उपस्थिति जनाएनन् । कांग्रेस संस्थापक बीपी कोइरालाले मेलमिलापका लागि शुरूआत गरेको चियापानमा शेखर अन्तिम समयमा मात्रै उपस्थित भएका थिए । 

पार्टीका अरू पदाधिकारी र महामन्त्री गगनले सक्रियतापूर्ण उपस्थिति देखाउँदा शेखर भने विराटनगरबाट ढिलो गरी औपचारिकता पूरा गर्ने हिसाबले मात्रै उपस्थित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्