२९ जेठ २०८३, शुक्रबार

गीत गाएकै कमाइले घर बनाएकी रचना भन्छिन् – मनैदेखि देखेको सपना पूरा हुने रहेछ

कात्तिक १९, २०८०
काठमाडौं
गीत गाएकै कमाइले घर बनाएकी रचना भन्छिन् – मनैदेखि देखेको सपना पूरा हुने रहेछ
तस्वीर : विश्वास खनाल/लोकान्तर डटकम

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । 

थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइसकेकी छन् । गीत गाएरै गृहजिल्ला झापामा एक वर्षअघि पक्की घर बनाइसकेकी छन् । 

आमाबुवालाई नयाँ घर बनाएर राख्ने रचनाको सानैदेखिको सपना थियो । विदेश गएर कमाएर भएपनि घर बनाउँछु भन्ने उनी सोच्ने गर्थिन् । 

‘पुरानो घर माटोको थियो । धेरै डर पनि थियो । सर्प, मुसाहरू आउने गर्थ्यो । एकपटक सर्प ओछयानमै झरेको थियो । त्यो देखेर पनि घर चाहिँ जसरी पनि बनाउँछु भन्ने सोच पलाएको थियो’ हालसालैको भेटमा रचनाले लोकान्तरसँग भनिन् । 

यद्यपि, संगीतबाट त्यो सपना पूरा गर्न पाउँदा प्राउड फिल गरिरहेको उनी बताउँछिन् । ‘छरछिमेकका दाइहरु विदेश गएर पैसा कमाएर नयाँ घर बनाउनुभएको हुन्थ्यो । गाउँमा त्यस्तो देखेको भएर पनि होला, म पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थेँ,’ उनले भनिन् – ‘जे होस् गीत गाएर घर बनाउन सफल भए । सबैको माया र आशीर्वादले यो सम्भव भएको हो । साँच्चिकै मनैदेखि सपना देखेपछि पूरा हुँदोरहेछ भन्ने लाग्यो ।’ 

घर बनाउन सुरु गर्दाको क्षण समेत रचनाले सेयर गरिन् । दिनरात नभनी गीतहरू रेकर्ड गर्ने उनले खातामा १० लाख रूपैयाँ जम्मा भएपछि घर बनाउन सुरु गरेकी थिइन् । ३५ लाख हाराहारी खर्चमा घर निर्माण भएको उनले बताइन् । 

बुवाआमालाई नयाँ घरमा राख्ने सपना पूरा गरेकी रचनाको अबको सपना चाहिँ के छ त ? २१ वर्षीया रचनाले हाँस्दै भनिन् ‘अर्को घर बनाउने काठमाडौंमा । त्यो चाहिँ कहिले पूरा हुन्छ थाहा छैन ।’

salt training

कमेन्ट गर्नुहोस्