
सीजी होल्डिङ्सअन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आपत्कालीन राहत सामग्रीहरू प्रदान गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको अभाव कम गर्नका लागि एसीएफले १६ टन राहत सामग्री उपलब्ध गराएको हाे ।

संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका प्रमुख (मेयर) डम्बरबहादुर राउतलाई शुक्रवार हस्तान्तरण गरेको थियो ।
होल्डिङ्सका कर्मचारीहरूले समेत भूकम्पपीडितका लागि एक दिनको तलब उपलब्ध गराइ राहत प्याकेजमा योगदान दिएका छन् ।
‘यस्तो कठिन समयमा सामुहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरिएको छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत कात्तिक १७ गते जागरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु हुनका साथै सयौंको संख्यामा घाइते भएमा थिए । भौतिक र सम्पत्तिको पनि क्षति भएको थियो ।
