
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन ।
१५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली’ले बिहीवार दिउँसो यो गीत सार्वजनिक गरेका हुन् ।
गीतमा धुर्मुसका भाइ हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र गायिका अनु चौधरीको स्वर छ । ‘सक्किगोनि’का लेखक एवं निर्देशक रहेका कुमारले यसअघि पनि दुईवटा गीतमा स्वर दिइसकेका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘भगवान कसम’ गीतको शब्द रचना गरेका हुन् । अर्जुन पोखरेलले यसमा संगीत दिएका छन् ।
‘धुर्मुस–सुन्तली’कै अभिनय रहेको भिडियोमा हिन्दु समुदायकी युवती र मुस्लिम समुदायका युवकबीचको प्रेमसम्बन्धलाई कथा बनाइएको छ । हिन्दु र मुस्लिम समुदायबीच एकता र सद्भावको सन्देश भिडियोले दिन्छ ।
जनकपुरमा छायांकन गरिएको भिडियोमा ‘धुर्मुस–सुन्तली’को छोरी सुबिहानी कट्टेलले समेत अभिनय गरेकी छन् ।
भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । ‘धुर्मुस–सुन्तली’कै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोलाई पवन सुस्लिङले छायांकन एवं सम्पादन गरेका हुन् ।