३१ असार २०८३, बुधबार
विवादमा मन्त्रीको निर्णय

कोशीका स्वास्थ्य मन्त्रीको गैरकानूनी काम: पूर्वाधार नबन्दै सय शय्या अस्पताल सञ्चालनको अनुमति

पुस २, २०८०
विराटनगर
कोशीका स्वास्थ्य मन्त्रीको गैरकानूनी काम: पूर्वाधार नबन्दै सय शय्या अस्पताल सञ्चालनको अनुमति

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले मापदण्ड नै पूरा नगरेको निजी अस्पताललाई एक सय शय्या सञ्चालनको अनुमति दिएको पाइएको छ । मन्त्रालयले भौतिक संरचना निर्माण नै नसकिएको विराटनगरको गोल्डेन अस्पताललाई एक वर्षअघि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएको हो । 

कोशी प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रीस्तरीय निर्णयबाट गोल्डेनलाई सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका हुन् । 

विराटनगरको हस्पिटल चोकमा भाडाको घरमा गोल्डेन अस्पताल ५० शय्यामा सञ्चालनमा थियो । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार सय शय्याको अस्पताल सञ्चालन गर्न आफ्नै भवन हुनुपर्छ । तर, मन्त्रालयले आफ्नै भवन बनाई नसकेको गोल्डेनलाई १०० शय्या सञ्चालनको अनुमति दिएको हो । गोल्डेनले अहिले पनि भाडाकै घरबाट अस्पताल सञ्चालन गरिरहेको छ ।

गोल्डेनले विराटनगर–११ मा नयाँ भवन निर्माण गरेर अस्पताल विस्तार गर्ने योजना भने बनाएको छ । तर, भवन अझै बनिसकेको छैन । एक वर्षअगाडि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति पाए पनि गोल्डेनको भवन निर्माणको काम अझै सकिएको छैन । 

अस्पताल स्तरोन्नतिको लागि स्वास्थ्य मन्त्रालयमा २०७७ चैत २८ गते गोल्डेनले निवेदन दिएको थियो । उसले १० महिनाभित्र आफ्नै भवनमा अस्पताल लैजाने प्रतिवद्धता जनाएपछि तत्कालीन स्वास्थ्यमन्त्री यादवले मन्त्रीस्तरको निर्णयबाट सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका थिए ।

null

सचिव स्तरीय निणर्यबाट अनुमति दिन मिल्ने भए पनि कर्मचारीले नमानेपछि तत्कालीन स्वास्थ्यमन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट अनुमति दिएका थिए । कानुन मिचेर अस्पताललाई अनुमति दिने विषयमा तत्कालीन मन्त्री यादव र मन्त्रालयका सचिवबीच विवादसमेत भएको एक कर्मचारीले बताए । 

मन्त्रीको निर्णयपछि स्वास्थ्य मन्त्रालयले २ मंसिर २०७९ मा गोल्डेनलाई सय शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्न अनुमति दिएको हो । अनुमति पाएपछि गोल्डेनले पुरानो भाडाको अस्पतालबाटै सय शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । 

गोल्डेनलाई मापदण्ड पूरा नगरी अस्पताल स्तरोन्नतिको अनुमित दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी पनि परेको छ । उजुरीउपर अनुसन्धान शुरू गरेको आयोगको इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेले जानकारी दिए । ‘गोल्डेन हस्पिटललाई स्वास्थ्य मन्त्रालयले स्तरोन्नति गरी एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको विषयमा अनुसन्धान शुरू गरेका छौं,’ उनले भने, ‘अनुसन्धानको क्रममा रहेकोले धेरै बोल्न मिल्दैन । अनुसन्धानपछि थप विषय खुल्नेछ ।’

अख्तियारले अनुसन्धान शुरू गरेपछि कोशी प्रदेश सरकारले पनि त्यसबारे छानबिन थालेको छ । गैरकानुनी रूपमा अस्पताल सञ्चालनको अनुमति दिएको विषयमा छानबिन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकको नेतृत्वमा तीन सदस्य समिति बनाएको हो । छानबिनको काम भइरहेको संयोजक नायकले जानकारी दिए । उनले छानबिन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन बाँकी रहेको बताए । 

तत्कालीन स्वास्थ्यमन्त्री यादवले भने गोल्डेनलाई कानुनअनुसार नै आफूले सय शय्या स्तरोन्नति गरी सञ्चालनको अनुमति दिएको दाबी गरेका छन् । ‘त्यसबेला निवेदन आएपछि हस्पिटलले प्रतिवद्धता गरेको थियो,’ उनले भने, ‘प्रतिवद्धताअनुसार हामीले अनुमति दियौं ।’ प्रतिवद्धताअनुसार भवन निर्माण गरेर अस्पताल सञ्चालन नगरको भए स्वयं अस्पताल जवाफदेही हुने यादवको भनाइ छ । 

यता अस्पतालका सञ्चालक सनातन मण्डलले भने अस्पताल नयाँ भवनमा सारिसकेको दाबी गरे । उनले नयाँ भवनमा सारिसकेको दाबी गरे पनि अस्पताल भने पूरानै भवनबाट सञ्चालित छ ।

salt training

कमेन्ट गर्नुहोस्