
गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता छ । गुरुङको उद्गमस्थल क्व्होलासोथार पनि यही पर्दछ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरुको उत्पत्ति र विकास भएको कास्कीका गुरुङले आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर कास्कीका गुरुङले ‘तमु ल्होसार’ पर्व मनाएका हुन् । बाह्र राशि जस्तै गुरुङ जातिमा १२ पशुपंक्षीको नाममा १२ वटा वर्ग विभाजन गरिएको छ । सोही वर्गका आधारमा आजदेखि बिरालो वर्ग सकिएर गिद्ध वर्गसमेत सुरु भएको छ ।
ल्होसार मनाउने क्रममा पोखराका विभिन्न सङ्घसंस्थाले संस्थागत रुपमै विभिन्न कार्यक्रम गरेको थियो । पोखरामा प्रधान कार्यालय रहेको तमु धिं नेपालले बिहानैदेखि क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, बत्ती बाली गुरु एवं अग्रज पुज्ने काम गरिने गरिएको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए ।
दिउँसो पोखरा रानीपौवाबाट तमु ल्होसार शुभकामना पदयात्रा निकाली तमु धिं नेपालको प्राङ्गणमा पुगी ल्होसार विशेष, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसहित पुरस्कार अर्पण र मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।
प्रदेशसभा सदस्य सरस्वती गुरुङले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि जातीय संस्कृति खुलेर मनाउन पाएको बताइन् ।
संसारभर छरिएर रहेको गुरुङ समुदाय एक भएमा भाषा, संस्कार, संस्कृति जोगाउन सकिने प्रदेशसभा सदस्य गुरुङले सुनाइन् ।