२९ जेठ २०८३, शुक्रबार
अत्यावश्यक सुरक्षा सामग्रीकै अभाव

समस्यैसमस्यामा प्रहरी: १४ वर्ष पुरानो अश्रुग्यास, न सञ्चार सेट, न पर्याप्त गोली

पुस १७, २०८०
काठमाडौं
समस्यैसमस्यामा प्रहरी: १४ वर्ष पुरानो अश्रुग्यास, न सञ्चार सेट, न पर्याप्त गोली

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीमा अत्यावश्यक सुरक्षा सामग्रीको अभाव रहेको बताए ।

अत्यावश्यक सामग्री नहुँदा भीड नियन्त्रणका लागि मुस्किल पर्दै आएको उनको भनाइ थियो । 

‘सञ्चार सेट अभाव छ । 'डेट एक्सपायर' अश्रुग्यास चलायो भन्नुहुन्छ, तर अब हुने आन्दोलनलाई सम्बोधन गर्न साधन स्रोत छैन । अत्यावश्यक सुरक्षा सामग्रीहरू छैनन् । हामीले साधन स्रोत चाहियो भनेर पटक–पटक ध्यानाकर्षण गराएका छौं, तर माग पूरा भएको छैन,’ उनले भने ।

ललितपुरको बालकुमारीमा शुक्रवार कोरियन भाषा परीक्षाको विषयलाई लिएर भएको आन्दोलनमा २ युवकको मृत्यु भएको सम्बन्धमा छलफल गर्न बसेको उक्त बैठकमा आईजीपी कुँवरले छिमेकी जिल्लाबाट सामग्रीहरू सापटी मागेर काम चलाउनुपरेको समेत बताएका थिए ।

‘मान्यज्यूहरूलाई जानकारी गराऊँ, उपत्यकामा कुनै आन्दोलन र दंगा हुँदा उपत्यकाले नजिकैका जिल्लाबाट सुरक्षा सामग्री सापटी ल्याउनुपर्ने अवस्था छ । केही दिनअगाडि भएको आन्दोलनमा पनि बाहिरबाट सुरक्षा सामग्री ल्याएर काम चलाएका थियौं, अहिले पनि अवस्था उही हो,’ कुँवरले भनेका थिए ।

सञ्चार सेट ललितपुर र काठमाडौंमा फरक–फरक हुँदा सम्पर्क गर्न नै समस्या रहेको उनको भनाइ थियो । आईजीपी कुँवरको कुरा सुनिसकेपछि समितिले प्रहरीलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

आईजीपी कुँवरले बाहिरी जिल्लाबाट सापटी ल्याइएका सुरक्षा सामग्री अझै फिर्ता नगरिएको बताए । 

‘उपत्यकाको सुरक्षा अवस्थालाई हेरेर हामीले बाहिरबाट मागेर ल्याएका सुरक्षा गियर र भीड नियन्त्रणका सामग्री फिर्ता गरेका छैनौं । त्यहाँ आन्दोलन र दङ्गाको अवस्था आयो भने समस्या हुन्छ,’ आईजीपी कुँवरले लोकान्तरसँग भने ।

गएको चुनावमा समेत सञ्चार सेट लगायतका सामग्री खरिद नगरिएको उनले बताए ।

प्रहरीका अर्का एक उच्च अधिकारीका अनुसार अहिले पनि १४ वर्ष पुरानो अश्रुग्यास प्रयोग हुँदै आएको छ । सन् २०१७  अन्त्य मिति (एक्स्पायरी डेट) रहेका अश्रुग्यास प्रयोग गर्नु बाध्यता बनेको ती अधिकारीले बताए ।

सामान्य अवस्थामा डेट सकिएको ४ वर्षसम्म अश्रुग्यास प्रयोग हुने गरेको र अहिले त्यो समय पनि गुज्रिसकेको उनले बताए । अश्रुग्यास सेल सन् २०१० मा किनिएको थियो ।

त्यसका अलावा पनि प्रहरीलाई देशैभरी विभिन्न प्रकारका सुरक्षा सामग्री आवश्यक रहेको उनले बताए । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रहरीलाई अहिले हातहतियार, गोलीगठ्ठा, भीड नियन्त्रणका सामान खरिद गर्न १ अर्ब १४ करोड १५ लाख बराबरको बजेट आवश्यक छ । 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको माग पत्रअनुसार प्रहरीका तालिम केन्द्रहरूमा आधारभूत तालिम सञ्चालन गर्न र दैनिक सुरक्षा प्रयोजनका लागि १२ बोर शर्ट गन कार्टेज २ लाख राउन्ड, १२ बोर शर्ट गन रबर बुलेट ३ लाख राउन्ड, ३८ एमएम टियर ग्यास सेल २४ हजार राउन्ड र ९ एमएम एम्युनिटेसन १० लाख २० हजार राउन्ड आवश्यक रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा खरिद प्रक्रिया अगाडि बढेको तर रोकिएको १२  बोर शर्ट गन १ हजार १५० युनिट र ९ एमएम पेस्तोल १ हजार युनिट पनि प्रहरीलाई आवश्यकता भएको बताइएको छ । 

प्रहरीलाई शहरी क्षेत्रमा आवश्यक पर्ने सेट राइट कन्ट्रोल गियर ८ हजार ८ सय थान आवश्यक रहेको माग पत्रमा उल्लेख छ । प्रहरीमा अहिले पनि पुरानो एनालग सिस्टमको सञ्चार सेट छ । विश्व डिजिटल सिस्टममा गइसक्दा पनि एनालगमा नै भर पर्नुपरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीलाई एनालगबाट डिजिटल सिस्टममा जानका लागि डिजिटल रेडियो ट्र्याकिङ सिस्टमा स्तरोन्नति गर्न र सर्भिलेन्स सिस्टमलाई आधुनिक बनाउनका लागि प्रहरीले आवश्यक बजेट माग गरेको छ, जसका लागि प्रहरीले १ अर्ब ४२ करोड ११ लाख रुपैयाँ बजेट माग गरेको गृह स्रोतले लोकान्तरलाई बतायो ।​

देशभरमा प्रहरीलाई ६ सय १५ गाडी अपुग

सुरक्षा दिनका लागि प्रहरीलाई आवश्यक पर्ने अर्को महत्त्वपूर्ण सामग्री सवारी साधन हो । प्रहरीका युनिटहरू थपिए पनि ती युनिटअनुसार सवारी साधन उपलब्ध नभएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायत बताउँछन् । ‘प्रहरीलाई सवारी साधन अभाव छ । प्रहरी युनिटहरू थपिएका छन्, त्यससँगै सवारी साधनहरूको पनि आवश्यकता पर्छ,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कडायतले भने ।  

प्रहरीले गृहमन्त्रालयमा पठाएको माग पत्र अनुसार प्रहरीलाई देशभरमा ६ सय १६ वटा सवारी साधन आवश्यक छ । भएका सवारी साधन पनि पुराना भएकाले तिनीहरूलाई मर्मत खर्च नै धेरै आउँदा नयाँको आवश्यकता भएको प्रहरीको दाबी छ । गएको चुनावमा केही सवारी साधन उपलब्ध भएका थिए, तर ती पर्याप्त नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले गएको चुनावमा १ हजार ७ सवारी साधन चलाएकोमा अधिकांश भाडामा लिइएको कार्यालय स्रोतको दाबी छ ।

त्यसका अलावा प्रहरी कार्यालयहरू अहिले पनि भाडाका भवनमा चलिरहेका छन् । देशभरमा ५ सय ५० वटा भौतिक संरचना निर्माण आवश्यक भएको प्रहरीले जनाएको छ । त्यति मात्र होइन, सामान्य खाट १६ हजार थान र म्याट्रेस ६१ हजार थान आवश्यक रहेको प्रहरीले जनाएको छ । 

तालिम केन्द्रमा गोली अभाव हुँदा थोरैले काम चलाउँदै प्रहरी 

ललितपुरको बालकुमारीमा कुशल तालिम प्राप्त प्रहरी नभएकाले गोली चलाएको टिप्पणी सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको थियो । सांसदहरूले प्रहरीको योग्यतामै प्रश्न उठाउँदा आईजीपी कुँवरले तालिमका लागि आवश्यक सामग्री अभाव रहेकोतर्फ इंगित गरेका थिए ।

प्रहरी एकेडेमीमार्फत अहिले प्रहरी ७ प्रदेश र उपत्यकामा गरी ८ वटा तालिम केन्द्र सञ्चालनमा छन् । प्रत्येक वर्ष सयौंको संख्यामा प्रहरी भर्ना हुन्छन्, तर गोली नहुँदा उनीहरूले पर्याप्त तालिम गर्न नपाएको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

एक तालिम केन्द्रका समादेशक (प्रमुख)का अनुसार कमान्डो तालिम गर्नेले न्यूनतम् २५ राउन्ड गोली चलाउनु पर्छ, तर उसले अहिले ५ राउन्ड गोली चलाएर तालिम गरिरहेको छ । 

‘तालिममा प्रहरीले न्यूनतम् गोली प्रयोग गरेर हतियार चलाउन पाएको छैन । आवश्यक गोली उपलब्ध नहुँदा थोरै गोली चलाएर तालिम सकाउनुपर्ने बाध्यता छ,’ ती समादेशकले लोकान्तरसँग भने । 

अहिले तालिम केन्द्रमा भएका गोली र सामग्रीहरू सकिएर प्रहरी प्रधान कार्यालयले तोकेर पठाएको सामग्रीले मात्र काम चलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्