
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो ।
छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो ।
सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ)का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए । नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उनको भनाइ छ ।
नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मकरुपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए । ईपीएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उनको भनाइ छ । यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ ।
दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ । नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रुपमा छ ।
कोरियामा रोजगारीका लागि बर्सेनि लाखौं नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन् । हाल एक लाख ७५ हजार नेपाली नागरिक कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने प्रतीक्षामा रहेको मन्त्रालयले जनाएको छ ।